कालिका माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविरबाट १४ सय बढि लाभान्वित

गैंडाकोटको कालिका माध्यमिक विद्यालयमा शुक्रबार भएको बृहत निःशुल्क आँखा शिविरबाट १४ सय बढि लाभान्वित भएका छन् । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र कालिका नमुना मावि गैंडाकोटको सहकार्यमा निःशुल्क आँखा परीक्षण शिविर भएको हो । सो शिविरमा कालिका नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी लगायतले आखाँ चेकजाँच गरेका थिए । चेकजाँच गरेका मध्ये ५१ जनाले चश्मा लगाउनुपर्ने अवस्था रहेको र १२ जनालाई भरतपुर आखाँ अस्पतालमा थप उपचारका लागि रिफर गरिएको किसान साकोस विजयनगर सेवा केन्द्र इन्चार्ज चन्द्र बहादुर सुनारीले जानकारी दिनुभयो ।
गैँडाकोट ८ का वडाध्यक्ष प्रेम सापकोटाले किसान साकोसले महत्त्त्त्वपूर्ण र आवश्यक कार्यक्रम गरेको बताउनुभयो ।
आखाँ स्वास्थ्य बिशेष अनि महत्त्त्वपूर्ण हुने भएकाले निशुल्क आखाँ शिवीर गरेको किसान साकोसका अध्यक्ष भोजराज पौडेलले बताउनुभयो ।
आँखा परीक्षण शिविरमा सहभागीका लागि तत्काल आवश्यक पर्ने औषधि र विद्यार्थीहरूका लागि निःशुल्क चस्मा र मोतियाबिन्दु भएका व्यक्तिहरूका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था पनि रहेको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजयराज तिमल्सिनाले बताउनुभयो ।
कालिका नमुना माविका प्रधानाध्यापक होमनाथ शर्माले बालबालिकामा समयमै आँखासम्बन्धी समस्याहरू पत्ता लगाएर उपचार गर्न सकिएमा भविष्यमा गम्भीर समस्याबाट जोगिन सकिने हुदाँ विद्यालयमा शिविर गरिएको बताउनुभयो।
त्यस्तै, शनिबार (भोलि) कालिका माविको परिसरमा सम्पूर्ण स्थानीयवासीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर हुने पनि किसान साकोसले जनाएको छ ।