मृतक देवकोटाको परिवारद्वारा गैँडाकोट प्रहरीमा आत्महत्या दुरुत्साहनको केश दर्ता 

२०८२ जेठ ५ आइतबार १८:२७:०० मा प्रकाशित

गैँडाकोट । शुक्रबार मृत अवस्थामा फेला परेका खेमराज देवकोटाको परिवारले इलाका प्रहरी कार्यालय गैँडाकोटमा आत्महत्या दुरुत्साहनको केश दर्ता गराएको छ । जेठ १ गतेदेखि हराएका आफ्ना बुबा २ गते विहान नारायणी नदि किनारामा मृत अवस्थामा फेला परेपछि छोरा किरण देवकोटाले आत्महत्या दुरुत्साहनको केश दर्ता गराएका हुन्  । शुक्रबार २ गते नै उजुरी दर्ता गर्ने भने पनि कार्यालय समय सकिएकोले आइतबार मात्रै केश दर्ता गराएको मृतकका सम्धी गुणाकर बस्यालले जानकारी दिनुभयो । 

चितवनमा रहेको जानकी इम्प्रेक्स कस्मेटिक पसलमा खेमराज देवकोटाले विगत १३–१४ बर्षदेखि काम गर्दै आएका थिए । गैँडाकोट ८ का खेमराज देवकोटालाई पसल सञ्चालक राजकुमार प्रसाद रौनियारले धम्की, तनाव दिएका कारण बुवाले आत्महत्या गर्न बाध्य भएको प्रहरीलाई बुझाएको जाहेरीमा उल्लेख रहेको छ । मृतक देवकोटाले त्यस पसलमा लेखा राख्ने र आर्थिक कारोबार समेत गर्दै आएका थिए । 

यस्तै सोही पसलमा मार्केटिङको काम गर्ने विकास शाह नाम गरेका कर्मचारीले बजारमा माल समान थोक विक्रि गरी संकलन गरेको नगद र चेकको रकम सही ढङ्गले नबुझाई हिनामिना गरेको बिषयमा साहु रौनियारले देवकोटालाई पसलमा एक्लै राखी विकास शाहले पसलमा २३–२४ लाख रुपैँया हिनामिना गरेको र त्यो रकम नतिरे अपहरण गरी भारत पु¥याएर लासै बेपत्ता बनाउने सम्मको धम्की दिएको र आफ्नो गल्ती नहुँदा पनि डर र धम्कीले गर्दा नै आत्महत्या गर्न विवश भएको छोरा किरण देवकोटाले दर्ता गराएको जाहेरीमा उल्लेख गरिएको छ । 

मृतकका सम्धी गुणाकर बस्याललेप्रहरीले उजुरी दर्ता गराएको र उचित न्यायपूर्ण छानविन गरी न्याय पाउने अपेक्षा रहेको बताउनुभएको छ । 
जाहेरी दिन परिवार, आफन्त र छरछिमेकी र शुभचिन्तकहरुको प्रहरी कार्यालयमा उपस्थिती रहेको थियो ।