असिनापानीका कारण जुम्लामा स्याउका बिरुवामा क्षति

जुम्ला । असिनापानीका कारण जुम्लाको गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रको स्याउखेतीमा क्षति पुगेको छ । यही वैशाख १७ गते स्याउको चिचिला लाग्ने बेलामा परेको असिनापानीले क्षति गरेको गुठीचौर-३ का किसान दीपक बुढाले बताउनुभयो
जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ । सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । गत वर्ष रु ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन भइरहेको कार्यालयले जनाएको छ ।
असिनाले करिब १० लाख जतिको स्याउमा क्षति भएको अनुमान गरिएको छ । किसान नुर्बु लामाले गत वर्ष स्याउबाट रु आठ लाख कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिनापानी क्षति गरेको बताउनुभयो । सो वडाका आफूसहितका नौ घर परिवारका स्याउमा असिनापानीले क्षति गरेको छ ।” प्रमुख आम्दानीका रूपमा रहेको स्याउको चिचिला लाग्ने बेला पातसमेत झार्ने गरी परेको असिनाले स्याउका रूख टाकुला देखिने थालेको स्याउ किसान लामाको भनाइ छ ।
स्याउलगायत जौँ, गहुँ, मकै, भोटे जिरालगायत बालीमा क्षति पुगेको छ । गत वर्षतिर शिखर इन्स्योरेन्सले बिमा गरिदिएकाले किसानलाई राहत भएको थियो । यो वर्ष बिमा नहुँदा स्याउ किसान मर्कामा परेको लामाले बताउनुभयो । गुठीचौर-२ मुडरीगाउँमा असिनापानीले स्याउमा क्षति गरेको वडाध्यक्ष दीपबहादुर ऐडीले बताउनुभयो । कोल्ते, गुठीगाउँ र मुडुरीगाउँ लगायत करिब पाँच सय ५० घरपरिवारले लगाएको गहुँ, जौँ, ओखर, स्याउ र बर्खे फलफूलमा क्षति गरेको छ । जौँ र गहुँबाली भित्र्याउने बेला परेको असिनापानीले किसान चिन्तित भएको वडाध्यक्ष ऐडीको भनाइ छ ।