चर्को स्पीकर बजाएर फलफूल तरकारी बेच्नेलाई ५ हजारसम्म जरिवाना

नवलपरासी पूर्व । गैँडाकोट नगरभित्र विभिन्न स्थानमा ठेला गाडी राखी फलफूल लगायतका सामाग्री बेच्नेलाई ५ हजारसम्म जारिवाना हुने भएको छ । गैँडाकोट नगरपालिकाको १० औँ कार्यपालिका बैठकले नै यस्तो निर्णय गरेको हो ।
निर्णयमा भनिएको छ “नगर भित्रका विभिन्न स्थानमा ठेला गाडी राखी फलफूल लगायतका सामाग्री बिक्रि गरिरहेको अवस्थामा नगर प्रहरीले जफत गरी जरिवाना शुल्क तोक्ने प्रयोजनका लागि एकपटकमा बढीमा रु ५ हजार नबढ्ने गरी जरिवाना शुल्क बापतको रकम लिन कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।”
नगरभित्र ठेलाहरुले ध्वनी प्रदुषण गरेर व्यापार व्यवसाय गरेको गुनासो अत्याधिक नगरमा आइरहेको हुँदा सो को नियमनका लागि यस्तो कदम चालिएको गैँडाकोट नगरपालिका नगर प्रवक्ता शिवकान्त तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले ठेलामा व्यवसाय नगर्नुस भनेका छैनौँ, व्यवसाय गर्नुस्, गर्नुपनि पर्दछ, तर अव्यवस्थित भएर सडक नै जाम गरेर, चर्को आवाजमा स्पिकर बजाएर, वायु प्रदुषण गरेर, व्यवसाय नगर्नुस भन्न खोजेका हौँ ।”
आफ्नो अधिकार प्रयोग गर्दा अरुको शान्तपूर्व बस्नपाउने अधिकार हनन गर्न नहुने प्रवक्ता तिवारीले बताउनुभयो । व्यवस्थित रुपमा कहाँ बसेर व्यवसाय गर्न दिने भन्ने सन्दर्भमा छलफल भइरहेको छ, प्रवक्ता तिवारीले भन्नुभयो “अहिलेलाई वडासँग समन्वय गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ । तर ध्वनी प्रदुषण र अव्यवस्थित तरिकाले ठेला तथा रिक्सामा व्यवसाय गर्न छुट दिइने छैन ।”
कार्यपालिका बैठकले चर्को आवाजमा निकालेर व्यापार गर्न नपाउने सन्दर्भमा पनि निर्णय गरेको छ । निर्णयमा लेखिएको छ “गैँडाकोट नगर क्षेत्र भित्र ठेला÷ई–रिक्सा लगायतका साधनहरुमा विहान बेलुकाको समयमा नगर भित्रका सडकहरुमा चर्को आवाजमा स्पिकरहरु बजाएर उत्पन्न भएको वातावरणीय प्रदुषणलाई न्यूनीकरण सहित उक्त व्यवसायहरुलाई उचित व्यवस्थापन गर्न सम्बन्धित वडा कार्यालयहरुलाई निर्देशन दिने र नगर क्षेत्रभित्र उत्पादन भएका कृषि उपजहरुलाई नगर क्षेत्रभित्र ठेला÷ई–रिक्सा मार्फत स्पिकरहरु नबजाएर बिक्रि गर्न अर्को व्यवस्था नभएसम्मका लागि अनुमति दिने निर्णय गरियो ।”