मौरीपालक किसानको सङ्ख्या बढ्योः यसवर्ष उत्पादन घट्यो

चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष चार हजार ९ सय ४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर तीन हजार ८ सय ७५ टनमा झरेको छ । नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीलगायत कारण यस वर्ष मह उत्पादनमा कमी आएको हो ।
उहाँले भन्नुभयो, “लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ ।” अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको सङ्ख्या बढे पनि मह उत्पादनमा भने कमी आएको हो । अघिल्लो वर्ष ८ हजार १ सय किसानले मौरीपालन गरेकामा गत वर्ष यो सङ्ख्या बढेर ८ हजार ३ सय ९८ किसानले मौरीपालन गरेका छन् । तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्यामा कमी आएको छ ।
व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष १ हजार ९ सय ६५ रहेकामा गत वर्ष घटेर १ हजार ५ सय ६८ जनामा झरेको उहाँले बताउनुभयो । उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन् । घरपालुवा सेरेना मौरी पाल्ने किसानको सङ्ख्या भने बढेको छ । अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान सङ्ख्या छ हजार १ सय ३५ रहेकामा गत वर्ष यो सङ्ख्या बढेर छ हजार ८ सय ३० पुगेको घिमिरेले बताउनुभयो ।
उनीहरूले २०८१ सालमा ९१ हजार ४ सय ३५ मेलिफेरा र एक लाख ८० हजार ५ सय ७८ गोला सेरेना मौरी पालेका थिए । विसं २०८० मा तीन हजार १ सय ४३ टन मह मौज्दात रहेकामा २०८१ मा १ सय ९७ टन मह मौज्दात रहेको महासङ्घले जनाएको छ । रासस