सहमतिमा नदी संरक्षणमा भएका अभ्यास र आगामी योजनामा पैरवी 

२०८२ बैशाख ६ शनिबार १५:४८:०० मा प्रकाशित


नवलपरासी पूर्व । सहमति संस्थाले शुक्रबार नदी संरक्षणको अभियानमा सक्रिय अभियानकर्मी र संघसंस्थासँग अभियान अन्तर्गत भइरहेका कार्य र भावि योजनाका विषयमा छलफल गरेको छ । सहमति संस्थाको सभाहलमा सिभिल सर्भिस अर्गनाइजेसन र रिभर च्याम्पिन्स सँग सम्पादित योजनाहरुको समिक्षा र योजना परिमार्जनमा छलफल गरेको हो । 

सहमति संस्थाले केही समय यता नदी संरक्षण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदी भन्नुहुन्छ “सहमतिले अहिलेसम्म एकसय भन्दा बढी नदी सरसफाईका विभिन्न अभियान गरिसकेको छ ।” यस अभियानले स्थानीय स्तरमा सचेतना निर्माणमा ठूलो सहयोग पुगेको बताउँदै अध्यक्ष सुवेदील भन्नुभयो “नदीको स्वच्छताको लागि सम्बन्धि निकायहरुसँग नीति निर्माणमा पनि सहमतिले काम गरिरहेको छ ।”

नदीको स्वच्छताका लागि देवघाटलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउन विभिन्न चरणमा सहमतिले सहकार्य गरिरहेको छ । अध्यक्ष सुवेदी भन्नुहुन्छ “सडकहरुमा सूचनामूलक बोर्ड राख्ने काम भैसकेको छ । देवघाटलाई प्लाष्टिमुक्त बनाउन कपडाका झोला देवघाट क्षेत्र विकास समितिलाई प्रदान गरेका छाँै ।”   


शुक्रबार सहमतिकै सभाहलमा सहभागि देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटको स्नानघाटलाई प्लाष्टिकमुक्त क्षेत्र बनाउन आफूहरु सक्रिय भएर अघि बढेको बताउनुभयो । सहमतिले सूचना सन्देश प्रवाह, कपडाको झोला, स्थानीय र सरोकारवालाई अभिमुखीकरण लगायतका काम गरेर सहयोग पु¥याएको बताउनुभयो ।


शुक्रबार नदी संरक्षण अभियानका क्रममा बेटर चितवनका सागर कार्की, सफा उर्जाका नरेश हमाल, एसडिआरसी नेपालका हुमाकान्त आचार्य, रिभर च्याम्पीयन सुवर्ण घिमिरे, उषा महत्तो लगायतले नदी संरक्षणका सन्दर्भमा भैरहेका पहल र भावि योजनाका बारेमा आफ्ना अनुभव तथा विचार सुनाएका थिए । कार्यक्रममा विश्व वन्यजन्तु कोषका प्रतिनिधि करुण देवान, साम्भवी पौडेल लगायतको उपस्थिति रहेको थियो । 

पहिलेका समाचार पनि पढ्नुहोस्

राप्ती नदी दिवस समारोह सम्पन्न, अभियानलाई सहमतिको साथ

सिक्स्टी अर्थ आवर अभियानमा सहमतिद्वारा नदी सरसफाई


सहमती संस्थाले डब्लु डब्लु एफको सहकार्यमा २०२३ अप्रिलदेखि चितवनमा खगेरी जलाधार क्षेत्र र नवलपुरमा गुन्द्रही जलाधार क्षेत्रमा जलाधार व्यवस्थापन लगायतका कार्यहरु गर्दै आइरहेको छ । देवघाट क्षेत्र तथा नारायणी नदी किनारमा हुने फोहोरको व्यवस्थापन गर्ने उद्देश्य राखेको यस संस्थाले फोहोर व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।


यस्तै सहमती संस्थाद्वारा डब्लु डब्लु एफ नेपालको साझेदारीमा सञ्चालित प्रकृतिमा आधारित समाधान ट्रिपल बेनिफिट परियोजना मार्फत नदीसँगै हामी अभियान अन्तर्गत चितवन तथा पूर्वीनवलपुर क्षेत्रका विभिन्न प्रमुख नदी किनारहरुमा सचेतनामूलक कार्य गरिरहेको परियोजनाका संयोजक खेमराज खनालले बताउनुभयो ।