गैंडाकोटमा विपन्न वृद्ध वृद्धाहरुलाई खाद्यान्न वितरण 

२०८२ बैशाख ७ आइतबार २०:२५:०० मा प्रकाशित

गैंडाकोट । वृद्धवृद्धा संरक्षण मञ्चको आयोजनामा आइतबार शुभकामना आदानप्रदान तथा विपन्न वृद्धवृद्धा राहत वितरण कार्यक्रम गैंडाकोट–२ स्थित एसपिएम टोलको क्रियापुत्री भवनमा सम्पन्न भएको छ । कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ का २५ जना विपन्न वर्गलाई २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, एक वटा नुहाउने साबुन, एक वटा कपडा धुने साबुन, एक किलो चिनी लगायतका खाद्य सामग्रीहरु वितरण गरिएको थियो ।


कार्यक्रममा वृद्ध वृद्धा संरक्षण मञ्चका अध्यक्ष काशीनाथ कँडेलले संस्थाले स्थापना भएदेखि नै विपन्न, अशक्त तथा एकल वृद्धवृद्धाहरूको सेवा र संरक्षणमा सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले समाजमा कसैको सहयोग नपाएका, बेवारिसे, वृद्धवृद्धाहरूको सेवा गर्नु मानव धर्म भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सेवा कार्यलाई अझ विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 


ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डिल्ली प्रसाद सिग्देलले समाजमा गरिब, विपन्न र एकल वृद्धवृद्धाप्रति गरिएको सहयोग प्रेरणादायी भएको बताउनुभयो । आगामी दिनमा पनि यस्तो कार्य निरन्तर भइरहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।


नगर कार्यपालिका सदस्य शान्ति न्यौपाने, वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, ं मौलाकालिका संस्कृत विद्यापीठका अध्यक्ष हरिप्रसाद सापकोटा, ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका निवर्तमान अध्यक्ष नारायण प्रसाद तिवारी, गोपेश्वर मन्दिरका अध्यक्ष वेदप्रसाद गौडेल, एसपीएम टोल विकास संस्थाका अध्यक्ष सुदर्शन सापकोटा लगायतले वृद्धवृद्धाहरूको सेवा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै वृद्धवृद्धा संरक्षण मञ्चले गरेको कार्यप्रति धन्यवाद दिनुभयो । 


वृद्ध वृद्धा संरक्षण मञ्चका उपाध्यक्ष सिता न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संस्थाका सचिव राधिका सापकोटा (पाठक)ले सहजीकरण गर्नुभएको थियो ।