तनहुँको मानपुर डेढगाउँ सडक ३० बर्षपछी भयो कालोपत्रे
नवलपुर । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढगाउँसम्म सडक कालोपत्र भएपछि यात्रा सहज भएको छ ।
घिरिङको मानपुरदेखि डेढगाउँसम्मको ११ किलोमिटर खण्ड कालोपत्रको काम सकिएसँगै यात्रा गर्नेलाई सहज भएको छ । यसअघि ११ किलोमिटर कच्ची सडक पार गर्न दुई घण्टा लाग्नेमा सडक कालोपत्र भएपछि उक्त दूरी १५ मिनेटमा छोटिएको स्थानीय सूर्यबहादुर रानाभाटले बताउनुभयो । उहाँले सडक कच्ची हुँदा धुलो र हिलोले हैरानी थियो । सडक कालोपत्र भएसँगै सहज रूपमा आवतजावत गर्न पाएको बताउनुभयो ।
सडक कालोपत्र भएसँगै घिरिङ गाउँपालिका-१ र ४ का वासिन्दालाई आवतजावत गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो । घिरिङ गाउँपालिका-१ को पुट्टार, अत्रौली र बैडीलगायतका स्थानबाट गाउँपालिकाको कार्यालय आउन अधिकांशले कालोपत्र सडक प्रयोग गर्ने गरेका छन् । यो सडक कालोपत्र गर्न २०७६ फागुनमा ठेक्का लागेको थियो ।
सडक कालोपत्रका ठेक्का पाएको सपना निर्माण सेवाले उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ । २०५१ सालमा ट्रयाक खुलेको यो मार्ग कालोपत्र भएपछि स्थानीयवासी खुसी भएका छन् । यो खण्ड स्तरोन्नतिका लागि २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु २२ करोड ८५ लाख ४१ हजार ७ सय ९३ को लागतमा उक्त मार्गको स्तरोन्नतिको काम अगाडि बढेको थियो । रु ३५ करोड १४ लाख ७४ हजार एक सय नौं लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तिन सय सोह्र कम रकममा सडक कालापत्रको ठेक्का पाएको थियो ।
यो बाटो कालोपत्र भएपछि पोखरादेखि मुग्लिन हुँदै नवलपुर जाने यात्रुले तनहुँको भिमाद हुँदै नवलपुर निस्कन छोटो बाटो प्रयोग गर्न सक्नेछन् । नवलपुरतर्फ बौदीकाली झ्यालबास १४.१ किलोमिटर कालोपत्र गर्न स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप सात किलोमिटर कालोपत्र गर्न बहुवर्षीय ठेक्काको प्रक्रिया अगाडि बढेको छ । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर सडक निर्माण भइसकेको छ ।