चितवनमा थकाली समुदायले तीन दिनसम्म तोरन्ल पर्व मनाउँदै

चितवन । चितवनमा थकाली समुदायले बुधबारदेखि तोरन्ल (फागु पूर्णिमा) पर्व मनाउने भएका छन् । थकाली सेवा समिति चितवनले भरतपुरमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी तोरन्ल पर्व हर्षोल्लासका साथ मनाउन लागेका हुन् ।
थकाली समुदायले नयाँ वर्षको रुपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन् । यस पर्वको अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर-८ स्थित बाइसबिघामा रहेका थकाली सेवा समितिको परिसरमा विभिन्न खेलहरुको समेत आयोजना गरिएको समितिकी अध्यक्ष कमला गौचनले बताउनुभयो । उहाँका अनुसार, यस वर्षमा पुरुषहरु धनुष (तिर) र महिलाहरु नागा भोटे खेल खेल्ने गर्दछन् । यी दुवै खेलका लागि आवश्यक तयारी पुरा गर्नुका साथै थकाली समुदायले घर सिँगार पटार गरेका छन् । तोरन्ल पर्व फागु पूर्णिमाको दिनलाई बिच पारेर तीन दिनसम्म मनाउने चलन रहेको गौचनको भनाई छ ।
यस पर्वको दिन बिहान सबेरै उठेर पुजापाठ गर्ने चलन रहेको थकाली सेवा समिति चितवनका सल्लाहाकार ओमप्रकाश गौचनले बताउनुभयो । घरको कन्या वा महिला बिहानै तीन बजे उठेर पितृलाई पुकार गरेर (सम्झेर) पुजाआजा गर्ने, छोरी ज्वाई भान्जि तथा आफन्तहरूलाई बोलाएर मीठा मीठा परिकार खुवाउने र तिर हान्ने खेल्ने चलन रहनुका साथै घरमै बनाएको छ्याङ (लोकल रक्सी) समेत खाने प्रचलन रहेको गौचनको भनाई छ । थकाली समुदायले फागु पुर्णिमा रंगहरु लगाउँदैनथे । आजभोलि भने अन्य समुदायको प्रभावका कारण लगाउन थालेका छन् ।
मुस्ताङको थासाङ गाउपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । तर, मुस्ताङबाट थकाली समुदायहरु बसाइसाराई गरेर देशका विभिन्न सहर तथा विदेशमा गएको गौचनले बताउनुभयो । उहाँका अनुसार, थकालीहरु व्यापार तथा उद्योग सञ्चालनका लागि चितवन झरेका हुन् । २०३० साल तिर चितवनमा ८ घरपरिवार झरेका थिए । अहिले उनीहरु बढेर ३९ घर पुगेका छन् । यहाँबाट पनि अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशमा बसाइसराई गर्नेको संख्या बढ्दो रहेको गौचनले बताउनुभयो । चितवनमा रहेका थकाली समुदायहरु होटल, उद्योग, किराना पसल तथा ठेक्कापट्टामा सक्रिय रहेका छन् ।
तोरन्ल पर्वको अवसरमा चितवनमा हरेक तीन वर्षको अन्तरमा थकाली धनुस (तिर) गोल्ड कप समेत हुने गर्दछ ।