चितवनको इच्छाकामना आधारभूत अस्पतालमा स्वास्थ्य बीमा सेवा , बोर्डसँग सम्झौता

चितवन । चितवनको इच्छाकामना आधारभूत अस्पतालले स्वास्थ्य बीमा मार्फत् सेवा दिने भएको छ ।स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको विषयमा इच्छाकामना आधारभूत अस्पताल र स्वास्थ्य बीमा बोर्डबिच सम्झौता भएको छ । सम्झौता भएसँगै इच्छाकामना आधारभूत अस्पतालमा उपचार गराउने बिरामीले आगामी २०८२ वैशाख १ गतेदेखि स्वास्थ्य बीमाको सेवा सुविधा पाउने भएका छन् । सम्झौताको अवधी पाँच वर्षको हुने र सम्झौता अवधी सकिनुभन्दा तीन महिना अगाडि नै नवीकरण गर्नुपर्ने छ ।
स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ को अधीनमा रहि दुई पक्षबिच सोमवार बीमा सम्झौता भएको हो । स्वास्थ्य बीमा कार्यक्रममा पाँच जनासम्मको सदस्य रहेको परिवारले प्रति परिवार प्रति वर्ष एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने छन् ।
पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा भने प्रति सदस्य थप २० हजारका दरले प्रति वर्ष अधिकतम दुई लाख रुपैयाँसम्मको उपचार निःशुल्क पाउने ऐनमा व्यवस्था छ । ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकले मात्रै एक लाख रुपैयाँको निःशुल्क उपचार गर्न पाउँछन् ।
बीमा कार्यक्रममा सहभागी हुनका लागि पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक तीन हजार ५०० रुपैयाँ तिर्नुपर्छ । थप प्रत्येक व्यक्तिका लागि वार्षिक ७०० रुपैयाँ लाग्ने व्यवस्था छ । सम्झौता पत्रमा स्वास्थ्य बीमा बोर्डको तर्फबाट निमित्त कार्यकारी निर्देशक डा.सरोज शर्मा र अस्पतालको तर्फबाट निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.संगम न्यौपानेले हस्ताक्षर गरेका छन् । बीमा बोर्डसंग भएको सम्झौताले नगरिकले आफ्नै पालिकाबाट बीमाको सुविधा लिन पाउने इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले पालिकाले नागरिकको स्वास्थ्यका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा अस्पतालबाट कुनै लापरबाही भएमा वा आफ्नो संस्थामा उपचार सेवा उपलब्ध हुँदाहुँदै विरामीलाई अन्यत्र पठाएमा सम्झौता स्थगन वा रद्ध हुने बताइएको छ ।