मधेसका गृहमन्त्री लेखीको सुरक्षामा खटिएका असई यादवको मृत्यु

काठमाडौँ । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको आइतबार मृत्यु भएको मधेस प्रदेशका बरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
आइतबार बेलुका पेट र छाती दुख्न थालेपछि यादवलाई जनकपुरधामस्थित गोदावरी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरको नोबेल अस्पताल लगिएको थियो । उपचारको क्रममा हिजो राती उनको मृत्यु भएको कोइरालाले बताउनुभयो ।
सिरहा नगरपालिका-२५ सुखचैना स्थायी घर भएका यादवको शव दाहसंस्कारका लागि उनको घर पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।