गैँडाकोटमा १९ नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ सम्पन्न

गैँडाकोट । गैंडाकोटमा नेवाः मिसा दबु गैँडाकोटले २ दिनसम्म सामुहिक ईहि यज्ञ अर्थात बेल विवाहको कार्यक्रम गरेको छ ।
हिजोदेखि सुरु भएको नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ अर्थात बेल विवाह आज समापन भएको छ । नेवाः मिसा दबु गैँडाकोटको आयोजनामा गैँडाकोट २ स्थित श्रीराम पार्टी प्यालेसमा सामुहिक ईहि यज्ञ अर्थात बेल विवाह भएको थियो । १९ जना कन्याहरुले सामूहिक रुपमा गुरुद्धारा विधिपूर्वक पूजा गरेका थिए भने आज अभिभावकहरुले कन्यादान गरी बेल विवाह सम्पन्न गरेका छन् ।
नेवार समुदायमा कन्याहरु पहिलोपटक रजस्वला हुनुभन्दा अगाडि उनीहरुको बेलसँग विवाह गरिदिने प्रचलन छ । कन्याहरुको बेलसँग विवाह गरिदिएमा पुन्य प्राप्त हुने विश्वास पनि नेवारी ससमुदायमा रहेको छ । सानै उमेरमा बेलसँग विवाह गरेपछि एउटा कर्म पुरा हुने र कन्याहरुलाई थप अगाडि बढ्न सहजता हुने नेवाः मिसा दबु गैँडाकोटका अध्यक्ष सिता श्रेष्ठले बताउनुभएको छ । अहिले वेल विवाह गरिसकेपछि श्रीमान्को मृत्युपश्चात् पनि उनीहरुले रातो पहिरहन लगाउन मिल्ने श्रेष्ठको भनाई छ ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका जनप्रतिनिधि, नेवाः मिसा दबु गैँडाकोटका पदाधिकारी, सदस्य, अन्य सामाजिक व्यक्तत्वहरुको उपस्थिती रहेको थियो ।