गैँडाकोटमा वीपी स्मृति कपको पहिलो खेलमा हुप्सेकोट विजयी 

२०८१ फाल्गुण ८ बिहीबार १८:१७:०० मा प्रकाशित


नवलपरासी पूर्व । गैँडाकोटमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को विहीबार समुद्घाटन गरिएको छ । विहीबारको पहिलो खेलमा हुप्सेकोट गाउँपालिका र बुलिङटार गाउँपालिकाबीच प्रतिष्पर्धा भएको थियो । बुलिङटारलाई ४–० गोलले पराजित गर्दै हुप्सेकोट गाउँपालिका विजयी भएको छ ।

हुप्सेकोटका तर्फबाट यमप्रसाद बुढामगरले २ गोल, विशन खाम्चा मगरले १ गोल र मिसन सोती मगरले १ गोल गर्नुभएको थियो । विहीबारको खेलमा यमप्रसाद बुढामगर म्यान अफ दि म्याच घोषित हुनुभएको छ । शुक्रबारको खेलमा मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाबीच दिउँसो २ बजे प्रतिष्पर्धा हुनेछ । खेल क्षेत्रीय रंगशालामा हुनेछ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्राध्यापक डा. शशांक कोइरालाले खेलकुद मानविय जीवनका लागि महत्त्वपूर्ण पक्ष रहेको बताउँदै गैँडाकोटको रङ्गशाला निर्माणमा आफू अझै पनि प्रतिवद्ध रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका अग्रज नेताहरूले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । ग्रामिणस्तरका खेलाडीहरुको पहिचान गरि राष्ट्रिय स्तरका खेलहरुका लागि खेलाडीको क्षमता विकास गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले बताउनुभयो । नवलपुरका ८ वटा पालिकाबीच प्रतियोगितामा प्रतिष्पर्धा हुने छ ।