गैँडाकोटका जनप्रतिनिधि कर्मचारीको समूहसँग २–१ ले पराजित

२०८१ फाल्गुण ८ बिहीबार ०७:५१:०० मा प्रकाशित


नवलपरासी पूर्व । गैँडाकोटमा जनप्रतिनिधी र कर्मचारीका बीचमा बुधबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कर्मचारीको समूह विजयी भएको छ । कर्मचारीको समूहले जनप्रतिनिधिलाई १ का विरुद्ध २ गोल गर्दै विजयी भएको हो । निर्धारित ६० मिनेटको समयावधिको पहिलो हाफसम्म दुवै समूहबाट कुनै गोल हुन सकेको थिएन । दोस्रो हाफमा कर्मचारीको तर्फबाट विजय गुरुङ र मुकुन्द कंडेलले १÷१ गोल गर्नुभयो । दोस्रो हाफको अन्तिम समयमा जनप्रतिनिधीहरुको तर्फबाट दिनेश कुमालले १ गोल फर्काएपनि जितका लागि प्रयाप्त हुन सकेन ।


गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा उत्कृष्ट गोलकिपर जनप्रतिनिधीका धामनाथ सापकोटा र उत्कृष्ट खेलाडी कर्मचारीका विजय गुरुङ घोषित हुनुभयो । विजयी खेलाडी तथा समूहलाई गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले पुरस्कार प्रदान गर्नुभयो । गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा रहेको प्रस्तावित क्षेत्रीय रंगशालामा भएको प्रतियोगिताको समुद्घाटन गर्दै नगरप्रमुख मदनभक्त अधिकारीले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध अझै समुधुर बन्ने विश्वास व्यक्त गर्नुभयो । समुद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, नेकपा एमालेका नगरअध्यक्ष कृष्ण कंडेल, रास्वपाका नगर सचिव अस्मिता घिमिरे, समाजसेवी गोकुल सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गैँडाकोट  खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।