फागुन ८ देखि गैंडाकोटमा वि.पी. स्मृती कप फुटबल प्रतियोगिता हुने

नवलपरासी पूर्व । फागुन ८ गते बिहीबारदेखि गैँडाकोटमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सुरु हुँदैछ । राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणको लागि नेपाली काँग्रेस गैँडाकोट नगरसमितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको समुद्घाटन बिहीबार गैँडाकोट क्षेत्रिय रंगशालामा विहान ११ बजे हुनेछ ।
ग्रामिणस्तरका खेलाडीहरुको पहिचान गरि राष्ट्रिय स्तरका खेलहरुका लागि खेलाडीको क्षमता विकास गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले बताउनुभयो । नगरसमितिले वीपी स्मृती भवन गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गर्दै नवलपुरका ८ वटा पालिकाबीच प्रतियोगितामा प्रतिष्पर्धा हुने बताउनुभयो ।
रनिङ शिल्ड फुटबल प्रतियोगिताको प्रथम पुरस्कार एकलाख रुपैँया, दोस्रो पुरस्कार ५० हजार रुपैँया, सर्वोत्कृष्ट खेलाडी पुरस्कार १० हजार रुपैँया, सर्वाधिक गोलकर्ता पुरस्कार पाँच हजार रुपैँया, सर्वोत्कृष्ट गोलरक्षक पाँचहजार रुपैँया र प्लेयर अफ दि म्याच पुरस्कार एकहजार रुपैँया राखिएको नगरसभापति सापकोटाले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस गँैडाकोटले पहिलो पटक आयोजना गर्न लागेको रनिङ शिल्ड फुटबल प्रतियोगिताका लागि १२ लाख ३४ हजार छ सय रुपँैया खर्च हुने अनुमान गरेको छ । प्रतियोगिता इच्छुक व्यक्तिहरुको सहयोगबाट सम्पादन गरिने नगरसभापति सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार गैरआवासीय नेपाली संघका तिलकप्रसाद गैरेले एकलाख ५० हजार रुपैँया सहयोग गर्दै सहप्रायोजकको रुपमा रहेका छन् ।
पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिशीले युवाहरुलाई खेलप्रति प्रेरित गर्न र खेलकुद क्षेत्रको विकासका लागि गर्न लागिएको प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको छ ।
पत्रकार सम्मेलनमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताका कार्यक्रम संयोजक रमेश तिवारी, नेपाली काँग्रेस नवलपुर, प्रदेश १ (क) का सभापति गोपालप्रसाद सापकोटा, नेपाली काँग्रेस नवलपुर जिल्ला सहसचिव राजेश पौडेल, गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटा लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नगरसमितिका सचिव गोविन्द घिमिरेले सहजीकरण गर्नुभएको थियो ।