वे ग्रुप अफ नवलपुरद्धारा नारायणी किनारमा सरसफाई
गैंडाकोट । ‘समृद्ध र सफा नेपाल’ भन्ने मुल नाराका साथ वे ग्रुप अफ नवलपुरले नारायणी नदी किनारमा सरसफाई गरेको छ । आज गैंडाकोट २ स्थित नारायणी नदी किनारमा इलाका प्रहरी, नगर प्रहरी, नारायणी टोल विकास संस्थाका टोलवासीहरु र वातावरणप्रेमी अभियन्ताको सहयोगमा नारायणी नदीको किनारमा फ्याक्किएका प्लाष्टिक तथा अन्य फोहोरहरुको व्यवस्थापन गरेको हो । गैंडाकोट नगरपालिकालाई पूर्ण रुपमा सरसफाईयुक्त बनाउने उद्देश्यका साथ अगाडि बढेको यस संस्थालाई गैंडाकोट वडा नं २ र गैंडाकोट नगरपालिकाले पनि बजेट व्यवस्थापनमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्दै आउने वडा नं २ का वडाध्यक्ष प्रकाश सापकोटाले बताउनुभयो ।
वे ग्रुप अफ नवलपुरका अध्यक्ष अमृत पौडेलले समाज सफा बनाउनका लागि आफ्नो संस्थाले विभिन्न सामाजिक सेवामुलक कार्यहरु गर्दै आएको बताउनुभयो । पौडेलले नारायणी नदि धार्मिक स्थल भएका कारण धेरै तिर्थालुहरु स्नान गर्न आउने र केही पर्यटकहरु घुम्नका लागि आउने हुदाँ उनीहरुको सहजताका लागि यस्तो कार्यहरु गर्दै आएको बताउनुभयो । उहाँले यसअघि माघेसंक्रान्तिका दिन नारायणी किनारमा फ्याकिएका फोहोरहरु उठाउनका लागि डोको राखेको पनि बताउनुभयो ।
वे ग्रुप अफ नवलपुरका उपाध्यक्ष प्रकाश अधिकारीले समाजका लागि हप्ताको एकदिन प्रत्येक शनिबार ७ बजेदेखि नारायणी नदी किनारमा सरसफाई कार्यक्रम गर्दै जाने बताउनुभयो । साथै उहाँले नवलपुरलाई प्लाष्टिकमुक्त बनाई पूर्ण सरसफाई बनाउने बताउनुभयो ।
विगत ४, ५ वर्षदेखि सार्वजनिक स्थल, मठ मन्दिर, विद्यालय तथा वेवास्ता गरिएका पार्कहरुमा सरसफाई कार्यक्रम गर्दै आएको वे ग्रुप अफ नवलपुरले गैंडाकोटमा पनि सरसफाईका कार्यहरु गर्दै आएको छ ।