कालिका संस्कृत विद्यापीठमा उपकुलपतिलाई स्वागत
कालिका संस्कृत विद्यापीठमा सोमबार नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धनेश्वर नेपाललाई स्वागत तथा सम्मान गरिएको छ । सोमबार नै उपकुलपति डा. धनेश्वर नेपालले कालिका संस्कृत विद्यापीठ अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयको समुद्घाटन समेत गर्नुभएको छ । यसैगरी सोही कार्यक्रममा उहाँले सहप्राध्यापक कपिलदेव भट्राई तथा उपप्राध्यापक श्याम खनालद्वारा संयुक्तरुपम लिखित एवम् विद्यापीठद्वारा प्रकाशित पौरस्त्य पाश्चात्त्य ज्यौतिष शास्त्रयोः परिचयः नामक कृतिको समेत उपकुलपति डा. नेपालले विमोचन गर्नुभएको छ ।
उपकुलपति डा. नेपालले संस्कृत शिक्षा संरक्षणको शिक्षा भएकाले विद्यार्थीसँख्या कति छन् ? भन्ने तर्फ नलागी संस्कृत भाषाको संरक्षण र उन्नयनमा सबै एकजुट हुन आग्रह गर्नुभएको छ । संस्कृत भाषा प्रशिक्षणलाई देशव्यापी बनाउन सकेमा विश्वविद्यालयमा विद्यार्थीसँख्या बढ्ने भन्दै आफ्नो योजना त्यतातर्फ रहेको बताउनुभयो । सरुवा, बढुवा, लोभ तथा लाभका विषयमा भन्दापनि विश्वविद्यालयको सुधारका विषय लिएर आउन सबैलाई डा. नेपालले आग्रह गर्नुभएको छ ।
बाल्मिकी विद्यापीठ काठमाण्डौँका प्राचार्य भागवत ढकालले कालिका संस्कृत विद्यापीठको भौतिक पूर्वाधार विकासमा जुटेको समुदाय अब विद्यार्थी संख्या बृद्धिका लागि पनि क्रियाशील हुन आवश्यक भएको बताउनुभएको छ ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कालिका संस्कृत विद्यापीठको विकासका लागि नगरपालिकाबाट सक्दो सहयोग पु¥याउँदै आएको बताउँदै विद्यापीठको विकासमा विश्वविद्यालयले पनि आवश्यक सहयोग गर्न उपकुलपति समक्ष आग्रह गर्नुभएको थियो । कार्यक्रममा कालिका संस्कृत विद्यापीठका अध्यक्ष ओमप्रसाद सापकोटा, प्राध्यापक डाक्टर गणेशप्रसाद खराल, प्राध्यापक डा. मतिप्रसाद ढकाल, लेखापाल बेलबहादुर दराई लगायतले बोल्दै नेपाल संस्कृत विश्वविद्यालयले कालिका संस्कृति विद्यापीठको विकासका लागि पूँजीगत विकासका लागि आग्रह गरेका थिए । सोमबार विमोचान गरिएको कृतिका सर्जकका तर्फबाट कपिलदेव भट्राई, स्वतन्त्र विद्यार्थी युनियन उपसभापति गणेश भण्डारी लगायतले मन्तव्य राखेका थिए । विमोचन कृतिका बारेमा प्राध्यापक कृष्णमणि पहारीले समिक्षा गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य डा. रामचन्द्र कंडेलले कार्यक्रमको सहजीकरण गर्दै विद्यापीठको विकासमा नेपाल संस्कृत विश्वविद्यालयले सकारात्मक उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा विद्यापीठलाई सहयोग पु¥याउने व्यक्ति अर्थात मानार्थ संरक्षकहरुलाई सम्मान गरिएको थियो । कालिका संस्कृत विद्यापीठका सञ्चालक सदस्य चूडामणि कंडेलले स्वागत मन्तव्य व्यक्त गर्दै गुरुकुलहरुको संरक्षणले मात्र विश्वविद्यालयले विद्यार्थी पाउने हुँदा तल्लो तहको कक्षा व्यवस्थापन तर्फपनि विश्वविद्यालयले पैरवी गर्न आवश्यक भएको बताउनुभयो ।