सञ्चालन भएका आयोजना पूरा गर्न सरकारको निर्देशन
काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सञ्चालन भएका आयोजना तथा योजनालाई प्राथमिकता दिएर पूरा गर्न निर्देशन दिनुभएको छ । नेपालगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ योजना थप्नुभन्दा सुरु भएका पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको हो । स्रोतसाधन र आवश्यकता अनुसार सरकारले नयाँ आयोजना थप्दै जान सक्ने भए पनि थालिएका आयोजना अलपत्र पारिने क्रम अब अन्त्य हुनुपर्ने उहाँको भनाइ छ । डिभिजन तथा आयोजना कार्यालयहरूले गर्नुपर्ने काम र अघि बढाउनुपर्ने प्रक्रियालाई गति दिन समेत उहाँले निर्देशन दिनुभएको छ । नीतिगत तथा कानुनी समस्याका कारण कार्यसम्पादनमा समस्या भए मन्त्रालयले सहजीकरण गर्ने तर काम अवरुद्ध हुन नदिइने उहाँले बताउनुभयो ।