देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

२०८१ माघ १ मंगलबार ०७:५४:०० मा प्रकाशित

आज माघे संक्रान्ति पर्व मनाइदै छ ।  मगर, थारु ल्गायत विभिन्न समुदायमा माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने गरिन्छ ।  देवघाटधाममा माघे संक्रान्ति मेला सुरु भएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ भएको छ । देवघाटमा स्नान गर्न देशभरबाट भक्तजनहरुको घुईंचो लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनुभयो ।


मेलाको शुभारम्भ गरिएसँगै अन्यत्रदेखि भक्तजन आउनेक्रम सुरु भएको छ  । गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरु पनि यस दिनमा स्नान गर्न आउने गर्दछन् । माघे सङ्क्रान्तिमा देवताहरु पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।

 


धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।


‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ । देवघाटमा नेपाल र भारतबाट भक्तजन स्नानका लागि आउने गर्दछन् । रासस्