एसपीएम कलेजमा "योग प्रशिक्षक प्रशिक्षण शिविर उदघाटन
एसपीएम कलेज गैंडाकोटले दशौं राष्ट्रिय योग दिवसको अवसरमा "निशुल्क योग र प्रशिक्षक प्रशिक्षण शिविर" कार्यक्रमको उदघाटन गरिएको छ ।
५० जना सहभागी रहनुभएको सो कार्यक्रममा योग प्रशिक्षक भावना ढकालले प्रशिक्षण दिनुहुनेछ ।
कलेज प्राचार्य दीपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नं २ का वडा सदस्य सकिला परियार रहनुभएको थियोे ।
कार्यक्रममा बोल्दै उहाँले योग शिविरमा लाग्ने सम्पूर्ण खर्च वडाको तर्फबाट ब्यहोरिने भएकोले कलेजमा सम्पर्क गरी योग प्रशिक्षणमा सहभागी हुन समस्त वडावासीलाई अनुरोध गर्नुभएको छ ।
प्राध्यापक गोविन्द रिमालको सहजीकरण रहेको उक्त कार्यक्रममा कलेज व्यवस्थापन समिति अध्यक्ष महेन्द्रभक्त अधिकारी, शिक्षा शास्त्र संकाय प्रमुख माधवप्रसाद सिग्देल, पूर्व जनप्रतिनिधि हरि ढकाल, कलेज व्यवस्थापन समिति सदस्य मीना केसी, जनजागृति आमा समूहका अध्यक्ष दिलु शर्मा, सचिव संगिता ढकाल, एसपीएम टोलका कोषाध्यक्ष धनेश्वर पोख्रेललगायतको उपस्थिति रहेको थियो ।
निःशुल्क योग प्रशिक्षण हरेक दिन बिहान ५ बजे शुरू गर्ने गरी कलेजले व्यवस्थापन मिलाएको छ ।