त्रिनेत्र बचत सहकारीले मनायो ३३ औँ साधारण सभा
गैँडाकोट । वि.स २०५० सालमा स्थापना भएको त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज ३३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गैंडाकोट ५ स्थित संस्थाको परिसरमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीको नीति र विधि अनुसार अगाडी बढ्नुपर्ने बताउनुभयो । संस्थालाई अगाडि बढाउनका लागी सबै सदस्यहरुलाई एकजुट बनाएर संस्थाले काम गर्नुपर्ने उहाँको भनाई छ ।
त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुलनाथ कंडेलले संस्थालाई प्रविधीमैत्री बनाउनुका साथै विद्यमान नितीहरुको समयानुकुल परिमार्जन गर्न, र सेयर सदस्यहरु वृद्धि गर्न , ऋण असुलीमा प्रभावकारीता लगायतका माध्यमबाट संस्था गुणस्तरीय सेवा दिने कार्यमा सफलताका साथ अगाडी बढेको बताउनुभयो ।
संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव दोलराज पाण्डेले एकका लागि सवै र सवैका लागि एक भन्ने मूल भावनालाई आत्मसाथ गरी स्थानीय स्तरमा छरिएर रहेका सानो सानो पुँजीलाई बचतको माध्यमबाट एकीकृत गरी त्यसको परिचालनबाट सहकारी सिद्धान्त र मूल्य मान्यताको आधारमा समुदायका मानिसहरुको जीवनस्तरमा सुधार ल्याई आत्मनिर्भर बनाउनमा संस्था सधै अगाडी रहेको बताउनुभयो ।
कोषाध्यक्ष विपिनभक्क्त अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दैे संस्थामा १ हजार ९ सय २२ सेयर सदस्यको ३ करोड ७० लाख ८४ हजार ९ सय शेयर पूँजी रहेको बताउनुभयो । संस्थामा ९४ लाख ८८ हजार ३ सय ६६ मुनाफा रहेको बताउनुभयो ।
कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक मुरारी भुसालले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो भने उपाध्यक्ष शंकरनाथ आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आर्थिक विकास शाखा गैंडाकोटका प्रमुख देवेन्द्र गौतम, गैंडाकोट ५ का अध्यक्ष रत्नप्रसाद सापकोटा, सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष बाबुराम खनाल, जनप्रतिनिधिहरु तुलसी गौतम, उषा पौडेल, संस्थापक अध्यक्ष एवम् जनक नमुना मा.विका प्राध्यापक चुडामणी कंडेल, त्रिनेत्र सामुदायिक विकास प्रतिष्ठान नेपाल गैंडाकोट ८ का अध्यक्ष प्रमेश आचार्य, पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।