गरिब विपन्न विद्यार्थीलाई सहयोग गरौँ, फोटो नहालौँ
अहिले चिसो मौसम छ । चिसो मौसममा बालबालिकाहरूको हेरचाह अरू बेलाभन्दा बढि ख्याल राख्नुपर्दछ । बिहान र बेलुका अभिभावकसँग घरमा हुने बालबालिका दिनभर विद्यालयमा हुन्छन् । न्यानो लुगा नहुँदा कतिपय विद्यार्थीहरुलाई चिसो मौसम अभिषाप जस्तै पनि लाग्दो हो । गरिब बिपन्न समुदायका बालबालिकाहरूलाई जाडो मौसम अझ बढी गाह्रो हुन्छ । गरिब विपन्न समुदायका बालबालिकाको संख्या सामुदायिक विद्यालयमा नै धेरै रहेको अवस्था छ ।
जाडो बढेसँगै गरिब बिपन्न समुदायका बालबालिकालाई न्यानो लुगा वितरण कार्यक्रम हुन थालेका छन् । उनिहरूलाई शैक्षिक सामग्री वितरणका कार्यक्रम समय समयमा हुँदै आएका छन् । विभिन्न सामाजिक व्यक्ति तथा संघसंस्थाले यस्तो कार्यक्रम गर्दै आएका छन् । गरिब बिपन्न समुदायका बालबालिकाहरूलाई न्यानो लुगा वितरण, शैक्षिक सामग्री वितरण जस्ता कार्यक्रम हुनुपर्दछ । यो राम्रो र प्रशंसनीय कार्यक्रमहरू हुन् । गरिब बिपन्न बालबालिकाहरुको पहिचान देखिने फोटो खिचेर सामाजिक संजालमा राख्नु गलत भएको जानकारहरू बताउँछन् । एउटा पेन्सील र कपि हातमा थमाएर, एउटा ट्रेकसुट सेट लगाएर गरिब बिपन्न समुदायको करार दिएर सामाजिक संजालमा तस्वीर राख्नु उनिहरु माथि गरिएको मजाक भएको बालबालिकाका क्षेत्रमा काम गर्ने सरोकारवालाहरू बताउँछन् । जाडो मौसम लागेसँगै यस्ता तस्वीरहरु सामाजिक व्यक्ति, सामाजिक संघसंस्था, विद्यालयका फेसबुक पेज तथा मिडियाहरूमा आउन थालेका छन् ।
बालबालिकाका तस्वीर तथा भिडियो खिचेर सार्वजनिक गर्नु, उनिहरुको कमजोरी, कमजोर आर्थिक अवस्थालाई सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति ठिक होइन । सहयोगको नाममा गरिबीको मजाक उडाउनु ठिक हैन । सहयोग गर्नु चाँहि राम्रो हो । दायाँ हातले दिएको बायाँ हातले थाहा नहोस् भन्ने संस्कारका हामी, सहयोगको नाममा अरुको कमजोर अवस्थाको किन खिल्ली उडाइरहेका छौँ । बालबालिकाका लागि सहयोग विद्यालयलाई हस्तान्तरण गरौँ । सहयोग सामग्री विद्यार्थीसम्म पुग्ने बेलासम्म सहभागि बनौँ । उनिहरुको तस्वीर सामाजिक सञ्जालमा नराखौँ । अरुको नजरमा उसलाई झन् किन कमजोर बनाउनु छ र । यस्ता प्रवृत्तिको अन्त्यका लागि सबै सचेत रहन आवश्यक छ । सहयोगी संघसंस्थाले सहयोग सामग्री विद्यालयका प्रधानाध्यापक वा अध्यक्षलाई हस्तान्तरण गरौँ । सो सामग्रीको पारदर्शी वितरणको प्रणाली बनाउनुहोस् । पारदर्शीताको नाममा अरु कसैको अवस्थालाई सामाजिक सञ्जालमा पर्दाफास गर्नु न्याय सँगत होइन भन्ने बुझौँ र अरुलाई पनि बुझाऔँ ।