दूधको भुक्तानीको समस्यामा चितवनका किसान र व्यवसायी,आन्दोलनमा जाने

२०८१ पौष २५ बिहीबार ०७:०१:०० मा प्रकाशित

 

चितवन जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीले बिक्री भएको दूधको भुक्तानी नपाउँदा किसानलाई रकम भुक्तानी गर्न सकेका छैनन् । साउनयताको रू ८० करोड दुग्ध विकास संस्थान (डिडिसी) र निजी संस्थाहरूले भुक्तानी नदिँदा यहाँका दुग्ध उत्पादक सहकारी संस्था र किसान समस्यामा परका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार साउनयता जिल्लामा रहेका एक सय १५ वटा दुग्ध उत्पादक सहकारीले रकम भुक्तानी पाउन नसकेका हुन् । जिल्लामा रहेका सहकारीहरूले रकम नपाएपछि दूध उत्पादन गर्ने किसानलाई रकम भुक्तानी गर्न कठिन हुन थालेको उहाँले बताउनुभयो ।

बगालले भन्नुभयो, “दूधको रकम भुक्तानीका लागि निजी संस्था र डिडिसीले एक महिनाको समय माग गरेका छन् । त्यतिबेलासम्म पनि रकम आउने नआउने निश्चित छैन ।” उहाँले सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि गत ९ गते एक महिनाभित्र रकम भुक्तानी गरिसक्ने सहमति भएको जानकारी दिनुभयो । भुक्तानी नपाए माघ १० गतेपछि आन्दोलनमा जाने तयारीमा सङ्घ रहेको उहाँले बताउनुभयो । अध्यक्ष बगालेका अनुसार डिडिसीले रू ३५ करोड र अन्य रकम निजी संस्थाहरूले भुक्तानी गर्नुपर्नेछ । दूधको रकम भुक्तानी नपाए पनि यहाँ उत्पादित दूध भने खपत भइरहेको उहाँले बताउनुभयो ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमा ५० प्रतिशत दूध जिल्लामा खपत हुने गरेको र ५० प्रतिशत दूध जिल्ला बाहिर जाने गरेको गरेको छ । यहाँको दूध काठमाडौँ, पोखरालगायत जिल्लामा जाने गरेको छ । जाडो समयमा दूध उत्पादनअनुसार खपत नहुँदा नियमित रूपमा पाउडर बनाएर राख्ने गरिएको उहाँले बताउनुभयो । अहिले दैनिक ३० देखि ४० हजार लिटर दूध पाउडर उत्पादनका लागि जाने गरेको छ । गर्मी समयमा दही, बिस्कुटलगायत वस्तुमा प्रयोग गर्न सहज हुने र वर्षातको समयमा दूधको अभाव पूरा गर्न अहिले केही दूधको पाउडर बनाएर राख्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

रासस