मह जात्राको टिम मार्फत अन्नपूर्ण डेरीको प्रशंसा ।

२०८१ पौष ११ बिहीबार २१:१७:०० मा प्रकाशित

भरतपुर । करिब दश वर्षपछि पुनः सुरु भएको मह जात्रा देशका विभिन्न सहरहरूमा प्रस्तुति दिइरहेको छ  । चितवनमा आफ्नो प्रस्तुति दिन आएको यो टिमले चितवनको पहिलो दुग्ध सहकारी संस्था, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको अवलोकन गर्दै यसको खुलेर प्रशंसा गरेका छन् । मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित कलाकारहरू किरण के.सी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ लगायत हास्य कलाकारहरुले संस्थाको गतिविधि र उत्पादनहरूको प्रशंसा गरेका हुन । अन्नपूर्णले गुणस्तरीय दुग्धजन्य पदार्थ, जस्तै दूध, दही, मोही, घिउ, पनीरलगायतका उत्पादन देशभर विक्री वितरण गर्दै आएको छ । अन्नपूर्ण डेरीको स्थापना २०४१ सालमा दुग्ध विकास संस्थानद्वारा गरिएको थियो। प्रारम्भमा ५० जना किसानबाट १३० लिटर दूध संकलन गर्दै सुरु भएको यो सहकारीमा अहिले दैनिक ८,२०० लिटर दूध संकलन भइरहेको छ  । सहकारीले दाना उद्योग, दूध चिस्यान केन्द्र, पशुविमा कार्यक्रम, कृषक बचत तथा ऋण कार्यक्रम, उन्नत गाई स्रोत केन्द, दुग्ध विविधीकरण परियोजना सहितको उद्योग र साइलेज उद्योग सञ्चालन सहकारी आफैले गर्दै आएको छ  ।