रास्वपाका सभापति लामिछानेको बयान सुरु ।
कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेको बयान सुरु भएको हो । पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा उपस्थित गराइएकोमा छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि लामिछानेको बयान सुरु भएको हो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यो मुद्दाका प्रतिवादीहरूको बयान भइरहेको हो । सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुनेछ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ ।