चितवनमा १८ औं हात्ती तथा पर्यटन महोत्सव सुरू, उपप्रधानमन्त्री सिंहद्वारा उद्घाटन ।
चितवनमा आजबाट १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ सुरु भएको छ । नेपाल सरकारको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले आज महोत्सवको उद्घाटन गर्नुभएको हो । उपप्रधानमन्त्री सिंहले पशु अधिकारको नाममा हात्ती महोत्सवको विरोध गर्न नहुने बताउनुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीले चितवनको पर्यटन विकासको लागि पाहुनालाई प्रधान गरिने सेवाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महोत्सवका संयोजक रामकुमार अर्यालले सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहा सहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको बताउनुभयो । हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता हुने संघका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो । विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीव ८० वटा हात्ती सहभागी हुने जनाइएको छ । महोत्सव आजदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव सुरु भएको हो ।