वनमा डढेलो लाग्न अहिलेबाट पूर्व तयारीमा जुटौँ
अबको २ महिनापछिको मौसम वन र वन्यजन्तु संरक्षणका लागि चुनौतीको मौसम मानिन्छ । खासगरी फागुन, चैत, बैशाखको समयमा वन क्षेत्रमा डढेलो लाग्ने गर्छ । र बढी मात्रामा आगलागीबाट काठ दाउराको क्षति एवं वन्य जन्तु मर्ने हुन्छ । शिशिर ऋतुमा झर्ने पात एवं जङ्गलभित्र सुकेर बसेका झार, हिउँदयामको हावाको निरन्तरता लगायतका कारणले यस मौसममा बढी मात्रामा आगलागी हुने गर्छ । प्राकृतिक कारण समेत आगलागी हुने भएपनि मुख्यतया मानवीय क्रियाकलापका कारण नै बढी आगलागी हुने गरेको भेटिन्छ । जसमा जानी–जानी आगो लगाउने, चुरोट बिँडीका ठुटाका कारण लगायत अन्य मानवीय कारक नै छन् । बँदेल मृग लगायतका जङ्गली जनावरको चोरि शिकारीका लागि समेत आगो लगाएर मार्ने प्रयास गरेको पाइन्छ ।
वन संरक्षण केवल वृक्षरोपण गरेर मात्र हुँदैन । आगलागीबाट हुने क्षति रोक्नु पनि एक उपाय हो । अघिल्ला वर्ष नवलपुरका वन क्षेत्रमा देखिएको डढेलोले ठूलो क्षति पुराएको थियो । गण्डकी प्रदेशमै जङ्गलमा बढी आगलागी हुने जिल्लाका रुपमा नवलपुर चिनिन्छ । र यो तथ्याङ्कहरुले पनि देखाउँछ । धेरै क्षेत्रफलमा आगोका कारण क्षति हुने जिल्लाका रुपमा नवलपुर दर्ज छ । गतवर्ष समेत डढेलोका कारण १ सय हेक्टर बढी क्षेत्रफलमा क्षती पुगेको थियो । जसले वन संरक्षणमा चुनौती थपिएको छ । डढेलो र आगलागीका कारण बोटविरुवा, वन्यजन्तु र जडिबुटी नष्ट हुने गरेका छन् भने आगलागीबाट धुवाका कारण वातावरण समेत प्रदुषित बन्ने गरेको छ ।
वनबाट हामी सबैले लाभ लिएका हुन्छौँ । तर उपभोक्ता वर्गको यसको संरक्षणमा कम चासो देखिन्छ । आज यसलाई संरक्षण गर्न सकिएन भने भोलीका दिनमा काठ दाउरा, जडिवुटी नष्ट हुनेछन् । जैवीक विविधतामा ह्रास आउने छ । बाढी पहिरोको जोखिम बढ्छ । भू–क्षय हुन्छ । वनकै कारण नियमित वर्षा कायम राख्न सघाउ पुग्ने हुनाले यसको संरक्षणमा पनि सबैले काम गर्न आवश्यक छ । वनको संरक्षणका लागि वनमा डढेलो लाग्न नदिन पूर्व तयारी अति महत्त्वपूर्ण छ । वनलाई जोगाउन प्रयास पनि नभएका होइनन् । अन्ततः आगो नियन्त्रण बाहिर पुग्ने गरेको अघिल्ला वर्षका अवस्थाले प्रष्ट हुन्छ । हामी सबै मिलेर वन डढेलोबाट बचाउनु आजैबाट जुट्नुपर्छ । वनमा डडेलो लाग्न नदिन अग्निरेखा निर्माण, आगो लागि हालेमा उत्तिकै सक्रियताका साथ नियन्त्रणमा लिने काम गरिनुपर्छ । सरोकारवाला निकायहरु यसमा गम्भिर बनी क्षति हुन नदिन अहिलेदेखी नै पूर्व तयारीमा जुटे भोलिका दिनमा क्षति कम हुने थियो ।