रवि लामिछानेसहित ५१ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीको राय ।

२०८१ पौष १ सोमबार २०:४२:०० मा प्रकाशित

कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा प्रहरीले रवि लामिछानेसहित ५१ जनामाथि मुद्दा चलाउन रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। सहकारी बचत रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले राय दिएको हो। आज जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको प्रहरी  नायब उपरिक्षक बसन्त शर्माले जानकारी दिनुभयो  । हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि मुद्दा चलाउन प्रहरीले राय दिएको हो। यस्तै प्रहरीले एक अर्ब ५१ करोड हाराहारीमा बिगो रकमको दाबी गरेको पनि शर्माले जानकारी दिनुभयो । गत वर्ष माघ २२ गते दिएको पूरक जाहेरीका आधारमा प्रहरीले उनीहरूविरूद्ध अनुसन्धान गरेको हो । प्रहरीले असोज ६ गते पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने असोज ९ गते लिला पछाई समातिएका थिए ।