गौतमबुद्ध क्रिकेट रंगशालामा प्याराफिट निर्माणको काम सुरु, १३ प्रतिशत काम सकियो ।
चितवनको भरतपुर–१५, स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्याराफिट निर्माणको काम सुरु भएको छ । अहिले स्ट्याण्ड १ मा प्याराफिट निर्माणको काम सुरु भएको हो । क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट निर्माणको काम थालिने छ । भीआइपी टावर १ मा उपर बीमको काम अन्तिम चरणमा पुगे लगत्तै पहिलो तलाको काम अघि बढ्ने प्रोजेक्ट म्यानेजर इन्जिनियर वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार टावर २ को भने लोवर बीमको काम अन्तिम चरणमा पुगेको छ । यस्तै रंगशालाको मैदानको काम अघि बढाउन माथिल्लो भागको माटो निकालिएको छ । अब छिट्टै पानी निकासका लागि उच्चस्तरीय प्रविधि जडान गर्ने तयारी रहेको यादवले बताउनुभयो । आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र संघीय सरकारसंगको समन्वयमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको काम अगाडि बढाएको हो । नयाँ सम्झौता अनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो ।