अर्थ समिति बैठक स्थगित, गणपूरक सङ्ख्या पुगेन ।
आजका लागि बोलाईएको अर्थ समितिको बैठक स्थगित भएको छ । गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक बोलाईएको थियो, तर गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो । प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ । अर्थ समितिमा तत्काल कायम सदस्यको सङ्ख्या २३ रहेकोमा आजको बैठकमा सभापति चालिसेसहित ८ जनाको मात्रै उपस्थिति रहेको थियो । समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ ।