आजदेखि दुई नयाँ हुलाक टिकट प्रचलनमा ।

२०८१ पौष १ सोमबार २०:३४:०० मा प्रकाशित

हुलाक सेवा विभागले दुई नयाँ टिकट प्रचलनमा ल्याएको छ । हुलाक सेवा विभागले ‘एक सय ५० औँ विश्व हुलाक दिवस’, र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई टिकटमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालद्वारा टाँचा प्रदान गरिएको छ । सन् २०२४ का हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिएको हो । हुलाक विभागअन्तर्गत हालसम्म एक हजार चार सय ५२ प्रकारका हुलाक टिकट छापिसकेको छ । आज टाँचा प्रदान गरिएका हुलाक टिकट रु १० दरका १०÷१० लाख प्रकाशनमा ल्याइएका विभागले जनाएको छ । टिकट टाँचा प्रदानपछि मन्त्रालयका सचिव अर्यालले हुलाक विभागको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको बताउनुभयो ।