जिल्ला स्तरीय शिक्षक तथा विद्यार्थीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।
नवलपरासी पूर्व । शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत सामाजिक विकास कार्यालय कावासोती नवलपुरको आयोजनामा जिल्ला स्तरीय शिक्षक तथा विद्यार्थीको वक्तृत्वकला प्रतियोगिता कावासोतीमा सम्पन्न भएको छ । पालिकाबाट छनौट भएर गएका शिक्षक र विद्यार्थी जिल्ला स्तरीय प्रतियोगितामा सहभागि भएका थिए । नतिजा सुधारमा शिक्षकको भूमिका विषयमा शिक्षक तर्फ भएको प्रतियोगितामा देवीचुली नगरपालिकाबाट भिमसेन आदर्श माध्यमिक विद्यालयबाट सहभागि कृष्णकला काफ्लेले प्रथम स्थान, कावासोती नगरपालिकाबाट जनता माध्यमिक विद्यालयबाट सहभागि रामचन्द्र दाहालले द्वितिय स्थान र गैँडाकोट नगरपालिका नारायणी माध्यमिक विद्यालय बाट सहभागि जगन्नाथ उपाध्यायले तृतिय स्थान प्राप्त गर्नुभएको छ ।
त्यसैगरी ज्येष्ठ नागरिक प्रति मेरो दायित्व शिर्षकमा विद्यार्थी तर्फ भएको प्रतियोगितामा कावासोती नगरपालिका त्रिभुवन माध्यमिक विद्यालयबाट सहभागी संस्कृति पौडेलले प्रथम स्थान ,मध्यविन्दु नगरपालिका नवलपुर आवासीय माध्यमिक विद्यालयबाट सहभागि हिमांशी भण्डारीले द्वितिय स्थान र देवचुली नगरपालिका नेपाल माध्यमिक विद्यालयबाट सहभागि सुदिप पोख्रेलले तृतिय स्थान प्राप्त गर्नुभएको छ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गने शिक्षक र विद्यार्थीले मंसीर २९ गते पोखरामा हुने प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा नवलपुरको प्रतिनिधित्व गरी सहभागीता जनाउने सामाजिक विकास कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो । समुद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान गर्नका लागि प्रतियोगितले सहयोग पुर्र्याउने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विश्वकर्माले शिक्षकले प्रतियोगितामा व्यक्त गरेका कुरा आफ्नो शिक्षण सिकाइमा पनि प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा समन्वय समिति नवलपुरका समन्वय अधिकारी जितेन्द्रजंग के.सी र शिक्षा विकास निर्देशनालय पोखराका प्रनिनिधी रामचन्द्र ढुंगानाले शुभकामना मन्तव्य राख्नुभएको थियो । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिपेन्द्रराज श्रेष्ठको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत मंसीर १९ गते शिक्षक हाजिरी जवाफ प्रतियोगिता र विद्यार्थी नृत्य प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।