गैंडाकोटमा व्यवसाय सम्हालेका अपाङ्गता व्यक्तिहरुलाई सम्मान

२०८१ मङ्सिर १८ मंगलबार १६:५४:०० मा प्रकाशित


नवलपरासी पूर्व । ‘समावेशी तथा दीगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्वको आधार’ भन्ने मुल नाराका साथ गैँडाकोटमा सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । गैँडाकोट नगरपालिकाको कार्यालय परिसरमा मंगलबार अपाड्ड व्यवसायी र अपाड्ड दाम्पत्य जोडीहरुलाई सम्मान गरिएको हो  ।

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख मदनभक्त अधिकारीले अपाङ्गता दिवसको शुभकामना व्यक्त गर्दै विभिन्न संघ संस्थामा आवद्ध रहनुभएका अपाङ्गता व्यक्तिहरूप्रति आफु सन्तुष्टी रहेको बताउनुभयो । अधिकारीले हिम्मत र धैर्यताका साथ कार्य गरी सफल भएका धेरै अपाङ्ग व्यक्तिहरूको उदाहरण दिई अझै अघि बढ्न  प्रेरित गर्नुभएको थियो । 


उपप्रमुख शान्ति कोइरालाले शरीरको कुनै एक अंग कमजोर हुँदैमा शरीरका सबै अंग कमजोरी नहुने बताउनुभयो । आत्मबल बलियो बनाई दृढ संकल्पका साथ कार्य गरेमा सफल हुने उपप्रमुख कोइरालाले बताउनुभयो । साथै केही कार्य गनका लागी सहयोगको आवश्यक परेमा आफुहरू सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।   


कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनाल,  शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईं, शिक्षा अधिकृत रामप्रसाद अधिकारी, वडा नं ५ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रत्नप्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।  कार्यक्रममा ११ जना अपाङ्गता दाम्पत्य  र १० अपाङ्गता ब्यवसायिलाई सम्मान गरिएको थियो ।