सामुदायिक विद्यालय स्तरीय परीक्षा समितिको प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न ।

२०८१ मङ्सिर १५ शनिबार २०:५६:०० मा प्रकाशित

गैँडाकोट । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा गैँडाकोट नगर स्तरीय सामुदायिक विद्यालय परीक्षा समितिको सह आयोजनामा एक दिने प्रश्नपत्र निर्माण कार्यशाला जनक नमुना माध्यमिक विद्यालयमा शनिबार सम्पन्न भएको छ । 

प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले कार्यक्रमको समुद्घाटन गर्दै विद्यार्थीले बुझ्ने गरी प्रश्नपत्र निर्माण गर्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो । प्रश्नपत्रको कठिनाइका कारण विद्यार्थी असफल हुनुहुदैन यसमा शिक्षकहरुले जिम्मेवार भएर काम गर्न  आग्रह गर्नुभयो । विशिष्ट अथिति शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख डा.बालकृष्ण चापागाईँले विद्यार्थीको आन्तरिक मूल्याङ्कनले तोकेका सबै पक्षहरुको सही मूल्याङ्कन गरी प्रत्येक विद्यार्थीको व्यक्तिगत विवरणलाई व्यवस्थित रुपमा राख्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो । प्रश्नपत्र निर्माण गर्दा बालबालिकाको सही मूल्याङ्कन गर्न विश्वसनीयता र वैधता कायम गरी प्रश्नपत्र तयार गर्नुका साथै निरन्तर मूल्याङ्कनलाई व्यवस्थित गर्नका लागि चापागाईँले निर्देशन दिनुभयो ।

कार्यक्रममा शिक्षा समिति सदस्य तथा जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि शर्मा कंडेल, नगर शिक्षा शिक्षा अधिकृत रामप्रसाद अधिकारी, विषयगत समितिको तर्फबाट अँगेजी विषय संयोजक राजुपुरी लगायतले प्रश्नपत्र निर्माणमा अपनाउनु पर्ने नियम तथा विधिका बारेमा प्रकाश पार्नुभएको थियो । परीक्षा समिति सदस्य एवं जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण परीक्षा समिति सचिव एवं जनक नमुना माध्यमिक विद्यालयका शिक्षक विष्णुप्रसाद रिजालले सहजीकरण गर्नुभएको थियो । परिक्षा समिति अध्यक्ष तथा रत्नराज्य माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रमा विषयगत समितिका संयोजक सहित विभिन्न विषयका गरी ७० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।