उद्यमशिलताका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने मन्त्री थापाको प्रतिबद्धता 

२०८१ मङ्सिर १५ शनिबार १८:४६:०० मा प्रकाशित

गैँडाकोट । देशमा उत्पादित जनशक्ति देशमा नै खपत हुने वातावरण बनाउनुपर्ने गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बताउनुभएको छ । जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोट नवलपुरको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले सिप विकासका तालिम र अन्य उद्यमी बन्ने बनाउने कार्यक्रम गरि समृद्धितर्फ अगाडी बढ्ने बताउनुभयो । 

 

उहाँले उद्योग बाणिज्य संघ, सिटिइभिटि आदि संग सहकार्य गरेर काम गर्ने बताउनुभयो । तालिम सञ्चालन गर्दा बजारको माग अनुरुप नै हुने उहाँको भनाई छ । आफुले मन्त्रालयमा आएपछि धेरै कामहरु अघि बढाएको र माग आएका आधारमा पनि तालिमको व्यवस्था गर्न सकिने बताउनुभयो । औद्योगिक क्षेत्र र उद्यमशिलता, रोजगारीको व्यवस्थाका निजीक्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 

चितवन उद्योग वाणिज्य संघका महासचिव तेजनारायण पाण्डेले सञ्चालन गर्नुभएकोे उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन,  गैंडाकोट ९ का निवर्तमान वडा अध्यक्ष धामनाथ सापकोटा, महिला उद्यमी कार्यसमिति सदस्य सिर्जना पौडेल, चितवन उद्योग वाणिज्य संघका महासचिव तेजनारायण पाण्डे, विभिन्न वडाका वडा अध्यक्ष, खेलकुदप्रेमी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम समापन दीपक प्रसाद सापकोटाले गर्नुभएको थियो ।

 

यसैबिच नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ नवलपुरले पनि गैंडाकोटमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापालाई स्वागत तथा सम्मान गरेको छ । 

 

नेपाली काग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ नवलपुरका सभापति अमृत भट्टचनले गण्डकी प्रदेश र नवलपुरका लागि प्रदेशबाट भएका कामको प्रशंसा गर्दै आगामी दिनमा पनि विकासका कामले निरन्तरता पाउनेमा आशावादी रहेको बताउनुभयो ।

 

स्वागत कार्यक्रममा नेता तथा कार्यकर्ता र शुभेच्छुकहरु, विभिन्न वडाका वडा अध्यक्ष, खेलकुदप्रेमीको उपस्थिती रहेको थियो ।