खगेरी जलाधार क्षेत्रमा सहमतिको संरक्षण कार्य सकारात्मक
नवलपरासी पूर्व । सहमति संस्थाले चितवनमा खगेरी जलाधार क्षेत्रको संरक्षणका लागि विभिन्न काम गर्दै आइरहेको छ । प्रकृतिमा आधारित सवालहरूलाई प्रकृति मार्फत नै समाधानका लागि सहमतिले काम गरिरहेको हो । रत्नगर नगरपालिकाको सभाहलमा शुक्रबार भएको कार्यक्रममा सहमतिले संरक्षण गरेका जलाधार क्षेत्रको सकारात्मक प्रभावदेखिएको स्थानीयहरुले बताएका छन् ।
सहमतिले खगेरी जलाधार क्षेत्रमा भइरहेको कामहरुको बारेमा नगरपालिका स्तरीय छलफल गरेको छ ।
रत्नगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले संरक्षण अभियानमा सहमति र नगरपालिकाले सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । पालिकाले रातो किताबमै कतिपय सहकार्यका कार्यक्रम उल्लेख गरेको हुँदा आगामी दिनमा सहज तरिकाले सहकार्य हुने सहभागि जनप्रतिनिधिहरुले बताएका छन् । यस कार्यक्रममा रत्नगरनगरपालिकाका वाड नं.६ का वडा अध्यक्ष किरण महत्तोले कार्यक्रमको समापन गर्दै सहमतिको कामले प्रकृति मार्फत नै प्रकृतिको संरक्षण गर्न सकिने सुझबुझ बढाएको बताउनुभयो । जलाधार क्षेत्रको प्राविधिक पक्षका बारेमा सहमतिका रविन बोगटी र निरोज तिमिल्सिनाले स्पष्ट पार्नुभएको थियो ।
चितवन रत्ननगरमा भएको कार्यक्रममा वडा अध्यक्षहरु अनन्त अधिकारी, सुन्दरमणी सुवेदी, पोटबहादुर घिमिरे, सफा उर्जाका बसन्त बहादुर राना, टिकौली मध्यवर्ती सामुदायिक वनका सचिव कृष्णप्रसाद आचार्य, पञ्चकन्या सामुदायिक वनका उपाध्यक्ष यज्ञबहादुर धमला, मिलिजुली सामुदायिक वनका अध्यक्ष मेघनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो ।
खगेरी जलाधार क्षेत्रमा ३ वटा सामुदायिक वनमा काम भइरहेको र थप १ वटामा अब काम अघि बढ्ने परियोजनाका संयोजक खेमराज खनालले बताउनुभयो । यस जलाधार क्षेत्रमा पञ्चकन्या सामुदायिक वन, टिकौली मध्यवर्ती सामुदायिक वन, मिलिजुली सामुदायिक वनमा संरक्षणका कार्य भइरहेका छन् । चित्रसेन मध्यवर्ती सामुदायिक वनमा अब संरक्षणका कार्य जोडिने संयोजक खनालले बताउनुभयो ।
४ वटा सामुदायिक वनमा सहमतिले यस परियोजना अन्तर्गत २४ जना हेरालुको ७ लाखबराबरको बिमा र ५५ जना वनका कार्यसमितिको ३ लाख बराबरको बिमा गरेको छ । यस बिमाले थप सहजता दिएको सामुदायिक वनका प्रतिनिधिहरुले रत्ननगरमा भएको कार्यक्रममा बताएका छन् ।
टिकौली मध्यवर्ती क्षेत्रमा १.७१ हेक्टरमा मिचाहा प्रकृतिका झार (वनमारा, निलोगन्धे आदि) हटाउने, वन डढेलो नियन्त्रणका लागि १ लाख १७ हजारका सामग्री हस्तान्तरण, गैरकाठ वन पैदावर नर्सरी स्थापनाका लागि करिब ३ लाख सहयोग जस्ता कार्य सहमतिले गरेको छ ।
पञ्चकन्या सामुदायिक वन क्षेत्रमा ३.७२ र टिकौली वन क्षेत्रमा ३.४३ किलोमिटर अग्नीरेखा निर्माणमा सहमतिले सहयोग पु¥याएको परियोजना संयोजक खनालले बताउनुभयो । यसैगरि मिलिजुली सामुदायिक वनमा २.१ हेक्टरमा ताल निर्माण गरिएको छ ।
शुक्रबार बिहान जलाधार क्षेत्र अन्तर्गतको अवलोकनमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका जोल्टे पोखरी सामुदायिक वन र शंखदेवी हसौरा सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएको संरक्षण पोखरी, खानेपानीको मुहान संरक्षण, सिँचाई कुलो लगायतका संरक्षण कार्यहरुको बारेमा पनि स्थलगत अनुगमन गरिएको थियो ।
सहमतिले दुबै जलाधार क्षेत्रमा गरेको कामले जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै जलाधार व्यवस्थापन गर्न सरकारी निकायहरुलाई नीतिगत र कार्यक्रम निर्माणमा दिशानिर्देश गर्ने सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभएको छ ।