महिला, शान्ति र सुरक्षा सम्बन्धी कार्ययोजना कार्यान्वयनका लागि जनप्रतिनिधि प्रतिवद्ध

२०८१ कार्तिक ६ मंगलबार १६:२५:०० मा प्रकाशित

गैँडाकोट । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला स्थित साझेदार निकायको क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ । विजय विकास स्रोत केन्द्रको चेतना सदनमा भएको कार्यशालामा गैँडाकोट, देवचुली, कावासोती र हुप्सेकोटका सरोकारवाला एवं साझेदार निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मंगलबार अधिवक्ता भुपेन्द्र खनालले मानव अधिकार र मौलिक हकसँगै लैङ्गिक समानता र सामाजिक समावेशीकरणबारे अभिमुखिकरण गर्नुभएको थियो । साथै लैङ्गिक समानता र समावेशीकरणबारे गैँडाकोट नगरपालिकाका अभ्यासहरु तथा लैङ्गिक समानता र समावेशीकरणबीच दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अन्तरसम्बन्धबारे प्रकाश पार्नुभएको थियो ।  

समापन सत्रमा गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, गैँडाकोटका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लिलाधर शर्मा र द्वन्द्व पीडित महिला सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देलले दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताएका थिए । द्वन्द्वबाट पीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि सबैले पहल गर्नुपर्ने बताएका थिए । 

पहिलो दिन द स्टोरी किचनका कार्यक्रम संयोजक मिना विकले दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी अभिमुखिकरण गर्नुभएको थियो । 

कार्यक्रममा दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न गठित पालिका स्तरीय कार्यान्वयन समितिका संयोजक एवं गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, पीडित तथा प्रभावित महिला र बालिकाको समष्टिगत आवश्यकता पहिचान उप समिति संयोजक एवं गैँडाकोट नगर उप प्रमुख शान्ति कोइराला लगायत नगरपालिकाका कार्यपालिका सदस्यको उपस्थिति रहेको थियो । 

विजय विकास स्रोत केन्द्रको आयोजना, गैँडाकोट नगरपालिकाको समन्वय एवं युरोपियन युनियन र द स्टोरी किचनको सहयोगमा सोमबार र मंगलबार कार्यशाला गरिएको हो । कार्यक्रमको सहजिकरण विजय विकास स्रोत केन्द्रका न्यायका लागि साहस ३.० कार्यक्रम संयोजक नर्मदा पाण्डेले गर्नुभएको थियो ।