द्वन्द्व प्रभावितको क्षेत्रमा काम गर्ने साझेदार निकायको क्षमता अभिवृद्धि कार्यशाला

२०८१ कार्तिक ५ सोमबार १४:२५:०० मा प्रकाशित

गैँडाकोट । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला स्थित साझेदार निकायको क्षमता अभिवृद्धि कार्यशाला शुरु भएको छ । 

विजय विकास स्रोत केन्द्रको आयोजना, गैँडाकोट नगरपालिकाको समन्वय एवं युरोपियन युनियन र द स्टोरी किचनको सहयोगमा सोमबारदेखी दुई दिने कार्यशाला शुरु भएको हो । विजय विकास स्रोत केन्द्रको चेतना सदनमा शुरु भएको कार्यशालामा गैँडाकोट, देवचुली, कावासोती र हुप्सेकोटका सरोकारवाला एवं साझेदार निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । 

कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले यस कार्यक्रमले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउन तथा प्रभावितहरुलाई उनिहरुको आवश्यकता पहिचान गरी उनीहरुलाई पनि मुल प्रवाहमा ल्याउन सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । द्वन्द्वका कारण समाज र समुदायका सिमान्तकृत एवं महिला तथा बालबालिकामा पारेको प्रभावलाई कम गरी संयुक्त राष्ट्र संघको प्रस्ताव र कार्ययोजना अनुरुप न्यायोचित समाज निर्माण गर्नका लागि मद्दत गर्ने परियोजनाको उद्देश्य रहेको बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न गठित पालिका स्तरीय कार्यान्वयन समितिका संयोजक एवं गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले द्वन्द्व प्रभावितहरुलाई नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग तथ अन्य कुरामा कुनै कमि हुन नदिने बताउँदै यस्तो विषयमा सरोकारवालाहरुलाई अभिमुखिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।  

गैँडाकोट नगर उप प्रमुख शान्ति कोइरालाले सशस्त्र द्वन्द्वका क्रममा महिला र बालबालिका यौन हिंसामा परेका कयन उदाहरण रहेको उल्लेख गर्दै उनीहरुलाई समाजमा स्थापित गर्न आफुहरु अग्रसर रहेको बताउनुभयो । पालिका तहमा गठन गर्नुपर्ने उप समित गठन गरी अघि बढेको बताउँदै द्वन्द्व पिडित महिलाको आवश्यकता पहिचानका लागि उनीहरुको विवरण संकलनको काम भइरहेको बताउनुभयो ।  

देवचुली नगर उप प्रमुख पार्वता तिवारीले पालिकामा द्वन्द्व प्रभावितको पहिचान समेत हुन नसकेको अवस्थामा यस कार्यक्रमले सघाउ पुराउने विश्वास व्यक्त गर्दै देवचुली नगरपालिकामा समिति बनाउने र बजेट विनियोजन गरेर कामको शुरुवात गरेको बताउनुभयो । स्थानीय सरकारले अपनत्व लिइ यसको अगुवाई गर्नुपर्ने बताउँदै उहाँले द्वन्द्व प्रभावितको भावनामा लागेको चोट निको पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।  

नेपाल रेडक्रस सोसाइटी नवलपुरका प्रतिनिधि विष्णुप्रसाद शर्माले रेडक्रसले द्वन्द्वका बेला र त्यसपछि पनि मानवीय उद्धार र राहतका कार्यक्रममा सहिजकरण गरेको बताउँदै आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा सहजकर्ता, द स्टोरी किचनका कार्यक्रम संयोजक मिना विकले महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी अभिमुखिकरण गर्नुभएको थियो । द्वन्द्वबाट पीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि गर्नुपर्ने काम र भइरहेका कामबारे अवगत गराउनुभएको थियो । 

कार्यक्रमको सहजिकरण गर्दै विजय विकास स्रोत केन्द्रका न्यायका लागि साहस ३.० कार्यक्रम संयोजक नर्मदा पाण्डेले बर्दियाको ठाकुरबाबा नगरपालिका, चितवनको भरतपुर महानगरापलिका र नवलपुरको गैँडाकोट नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा स्थापित गर्न लागिएको बताउनुभयो । यहाँ विभिन्न तालिम अभिमुखिकरण सँगै उहाँले द्वन्द्व पिडित महिलाको व्यक्तिगत विवरण संकलन गर्ने कार्य चलिरहेको बताउनुभयो ।