अमेरिकाविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्विप’

२०८१ कार्तिक ५ सोमबार ११:३०:०० मा प्रकाशित

काठमाडौं । अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । यसअघिका दुई खेल आफ्नो पक्षमा पार्दै एक खेलअगावै सिरिज कब्जा गरेको नेपालले सोमबार सम्पन्न तेस्रो खेलमा पनि जितको सिलसिला यथावत् राखेको हो ।

सोमबार बिहान सम्पन्न सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको थियो । जसलाई नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा ग–यो ।

आसिफ शेख सर्वाधिक ५० रन जोड्दा कुशल मल्ल र कुशल भुर्तेलले क्रमशः ४४ र ४० रन जोडे । अनिल शाहले १३ रनको योगफल बनाएर जितका लागि सहायता गरे ।

यसक्रममा अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले समान १/१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

सैतेजा मुक्कामल्लाले अमेरिकाका लागि सर्वाधिक ६८ रनको योगफल जोड्दा मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ र हरमीत सिंहले १० रन जोडे ।

सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले समान १/१ विकेट लिए ।