गैँडाकोटमा भोली र पर्सी ४५ सय ५२ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

२०८१ कार्तिक १ बिहीबार ११:५७:०० मा प्रकाशित

गैँडाकोट । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत भोलि कात्तिक २ गते शुक्रवार र पर्सि ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदैछ ।

गैँडाकोटमा ४ हजार ५ सय ५२ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य रहेको गैँडाकोट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिनुभयो ।

गैँडाकोट नगरपालिकामा रहेका १८ वटै वडाका ४१ जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकामाफर्त तोकिएको स्थानमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने उहाँले बताउनुभयो । 

पहिलो दिन शुक्रवार छुटेकाहरुलाई शनिवार पायक पर्ने स्थानमा गई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले आग्रह गर्नुभयो । 

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।