महिला सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गर्न सूर्यदीप सहकारी सफल : उपप्रमुख कोइराला 

सूर्यदीप नारी बचत तथा ऋण सहकारीको साधारण सभा

२०८१ असोज ३० बुधबार १६:२८:०० मा प्रकाशित

गैंडाकोट । सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लि. गैँडाकोट ९ को १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख शान्ति कोइरालाले महिलाद्वारा स्थापित सहकारीले सञ्चालन गरेको गतिविधिले महिला सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले अहिले विभिन्न तहमा महिला सहभागिता बढ्दै गएको जनाउँदै अझै महिलाले पाउने अधिकार लिन महिलाहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष दिपादेवी सापकोटाले महिलाहरुको आर्थिक जीवनस्तर सुधार गरी आत्मनिर्भर गराउन सहकारी उद्धत रहेको बताउनुभयो । उहाँले समूहमा बसेर बचत गर्ने बानीको विकासले अहिले लाखौं रुपैयाँको कारोबार गर्न सफल भएको र यसले अफ्ठ्यारोमा परेका महिला दिदिबहिनीहरुलाई सहयोग मिलेको समेत बताउनुभयो । 

सहकारीका उपाध्यक्ष भवानी बर्तौलाले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीले छोरीमात्रै जन्माउने सदस्यहरुलाई सम्मान गर्ने गरेको बताउनुभयो । 

साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव भद्रकली घर्तीले सहकारीमा ५५७ महिला सदस्य रहेको जनाउँदै सर्वसुलभ गुणस्तरीय वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरी सदस्यहरुको जीवनस्तरमा सुधार, वातावरण संरक्षण गर्दै सहकारी सिद्धान्त अनुरुप महिलाहरुको आर्थिक, सामाजिक, शैक्षिक जीवनस्तर माथी उठाउन सोही अनुरुपका कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । 

कोषाध्यक्ष पार्वती सापकोटाको आर्थिक प्रतिवेदन वाचन गर्दै सह सचिव सिम्पल कुमालले १ करोड ८२ लाख ३१ हजार ५ सय ९० रुपैयाँ बचत रहेको जानकारी दिनुभयो । संस्थामा ४४ लाख ५० हजार २ सय सेयर पूँजी रहेको जनाउँदै यस वर्ष ३ लाख १९ हजार नाफा गरेको बताउनुभयो । 

लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा तथा सुपरिवेक्षण समिति संयोजक रेवती ढकालले महिलाहरुलाई अझै वित्तीय साक्षरता र सहकारी शिक्षामा जोड दिन आग्रह गर्दै ऋण समयमै असुल गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो । 

ऋण उप समिति संयोजक पार्वती सापकोटाले सहकारीले अहिलेपनि १७२ जनालाई करिब डेढ करोड लगानी गरेको जानकारी दिनुभयो ।

संस्थाको १९ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले महिलाहरुको कदमको प्रशंसा गरेका थिए । नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका केन्द्रीय लेखा संयोजक एवं संस्थाका सल्लाहकार इन्द्रराज ज्योती पौडेल, गैँडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटा, पूर्व वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा, सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष बाबुराम खनाल, गैँडाकोटका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, जयश्री टोलका कार्यबाहक अध्यक्ष छविलाल सापकोटा, लोकदोहोरी प्रतिष्ठान नवलपुरका अध्यक्ष बुद्धीनाथ घिमिरे, सेयर सदस्य इन्द्रकुमारी कुमालले शुभकामना व्यक्त गर्दै वडामा पछाडी परेका महिला दिदिबहिनीलाई अघि ल्याउन सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको थियो । 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष एवं सहकारी समन्वय मञ्च गैँडाकोटका उपाध्यक्ष खगराज सापकोटा, सल्लाहकार उमा पाण्डे, वडा सदस्यहरु दिनेश कुमाल, गमता पाण्डे भट्टराई, समाजसेवी बालुराम कुमाल लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट सेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।