राष्ट्रिय जनमोर्चाद्वारा गैँडाकोट नगरपालिकामा ज्ञापनपत्र पेश

२०८१ भदौ ३१ सोमबार १८:५९:०० मा प्रकाशित

गैँडाकोट । राष्ट्रिय जनमोर्चा एवं अखिल नेपाल युवक संघ नवलपुरले विभिन्न माग राख्दै गैँडाकोट नगरपालिकामा ज्ञापनपत्र पेश गरेको छ । नगरपालिकाबाट प्रदान गरिने सेवा गुणस्तरीय बनाउन, विभिन्न राष्ट्रघाती सन्धि सम्झौता खरेज गर्न, स्थानीय तहले गरिरहेका विभिन्न दलीय विभेदको अन्त्य गर्न, सहकारीलाई व्यवस्थित तुल्याएपछि मात्र अन्य नयाँ सहकारी स्थापना वा दर्ताको अनुमति दिन लगायतका माग राखेर सोमबार नगरप्रमुख मदनभक्त अधिकारीलाई ज्ञापन पत्र पेश गरेको हो । 


राष्ट्रि«य जनमोर्चाका केन्द्रीय सदस्य दीपक पाण्डेले स्थानीय निकायमा महङ्गीकरण, बेथिति, भ्रष्टचार, महिलामाथि असुरक्षित, युवाहरुको वैदेशिक पलायन रोक्न माग गर्नुभयो । उहाँले स्थानीय सरकारले गर्न नसकेको माग प्रदेश सरकारले पुरा गर्न र प्रदेश सरकारले पुरा गर्न नसके केन्द्रीय सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादित वस्तुहरुलाई बजारमा वितरीत गर्न समस्याहरुको व्यवस्थापन गरी सर्वसाधारण व्यक्तीले सहज सेवा पाउने वातावरण बनाउन माग गर्नुभएको छ । 


यसैगरी राष्ट्रि«य जनमोर्चाका जिल्ला सदस्य तथा गैँडाकोट नगर अध्यक्ष होमनाथ पराजुलीले ज्ञापन पत्र पेश गर्दै नेपाल–भारतबीचको सन् १९५० को असमान सन्धि खारेज लगायतका कालापानीमा रहेको भारतीय सेना हटाउने, सरकारी सबै विद्यालयमा समान किसिमले शिक्षकहरुको व्यवस्था गरी समान सेवा सुविधा दिन र नगरपालिका भित्र रहेका राजनीतिक पहुँचको असमानताको अन्त्य गर्न माग गर्नुभयो । 

ज्ञापनपत्र ग्रहण गर्दै गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले नगरका कसैले दुःख नपाउने र कृषकहरुलाई मार नपर्ने गरी काम गर्ने विश्वास दिलाउनु भएको छ । उहाँले आफूले सकेको सहयोग गर्ने र नसके संघीय सरकार सम्म कुरा पुराउने बताउनुभयो ।