विज्ञान शिक्षक समाजको प्रथम स्मारिका विमोचन एवं सम्मान कार्यक्रम सम्पन्न

२०८१ असोज १ मंगलबार १८:५९:०० मा प्रकाशित

गैँडाकोट । १२ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा गैँडाकोटमा विज्ञान शिक्षक समाजको प्रथम स्मारिका विमोचन एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । 

विज्ञान शिक्षक समाज नेपाल जिल्ला कार्य समिति नवलपरासी (बर्दघाट सुस्तापूपर्व) को आयोजनामा जनक नमुना माविमा प्रथम स्मारिका विमोचन एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

‘विज्ञान तथा प्रविधी ः विकास र उत्पादन वृद्धि’ भन्ने मुल नाराका साथ आज भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्माले स्मारिका विमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै समग्र देश र जनताको विकासका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । साथै उहाँले नवलपुरका विज्ञान शिक्षकहरुले गरेको कामको प्रशंसा गर्नुभयो । 

विज्ञान शिक्षक समाजका जिल्ला अध्यक्ष मोहन भण्डारीले विज्ञान शिक्षकको एकतासँगै शैक्षिक विकास, व्यक्तित्व विकास तथा सामाजिक हितका कार्यक्रम गर्दै आएको बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष दिपक बहादुर विष्टले गर्नुभएको थियो । उक्त कार्यक्रममा जनक नमुना माविका प्रधानाध्यापक चुडामणी शर्मा, समाजका गण्डकी प्रदेश प्रमुख राजकुमार ढकाल, गैंडाकोट नगर शिक्ष अधिकारी डा. बालकृष्ण चापागाईं, गैंडाकोट नगर शिक्षा अधिकृत राम प्रसाद अधिकारी, समाजका केन्द्रीय सदस्य तथा पूर्व प्र.अ. एवम् विज्ञान प्रशिक्षक शशी भुषण पाण्डे, समाजका साविक नवलपरासीका अध्यक्ष वरिष्ठ विज्ञान प्रशिक्षक राजेन्द्र कुमार पटेल, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा पूर्व शिक्षक राजेन्द्र पटेल, शशिभुषण पाण्डे, घनश्याम भुसाल, खिलेस्वरी धिताल, कमलेश्वर प्रसाद गौडेललाई सम्मान गरिएको थियो । 

जनक माविका सहायक प्रध्यानाध्यापक नारायण तिमिल्सीनाले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका जिल्ला प्रवक्ता एवम् स्मारिका सम्पादन मण्डलका सदस्य, विनयी त्रिवेणी समाजका अध्यक्ष वसन्त चापागाई, समाजका गैंडाकोटका अध्यक्ष शिव जिसिले कार्यक्रममा धन्यवाद व्यक्त गर्नुभएको थियो ।