गैँडाकोट नगरपालिकाद्वारा उत्कृष्ट प्रधानाध्यापक, विद्यालय र विद्यार्थीहरुलाई सम्मान 

२०८१ असोज २ बुधबार १९:१८:०० मा प्रकाशित


गैँडाकोट । राष्ट्रिय शिक्षा दिवश २०८१ को अवसरमा गैँडाकोट नगरपालिका शिक्षा शाखाले उत्कृष्ट विद्यालय, उत्कृष्ट प्रधानाध्यापक र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । सामुदायिक विद्यालय तर्फ जनक नमुना माध्यामिक विद्यालय र संस्थागत विद्यालय तर्फ गैँडाकोट ईंग्लीस स्कूल उत्कृष्ट विद्यालयका सम्मानित भएका छन् । सामुदायिक विद्यालय तर्फ उत्कृष्ट प्रधानाध्यापकका रुपमा रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालय गँैडाकोट १० का प्रधानाध्यापक नवराज काफ्ले सम्मानित हुनुभएको छ ।

संस्थागत विद्यालय तर्फ स्मल हार्ट एकेडेमी गैँडाकोट ४ का निर्मल पाण्डे सम्मानित हुनुभएको छ । यस्तै उत्कृष्ट विद्यार्थी तर्फ कक्षा ८, १० र १२ का १६ जना विद्यार्थी सम्मानित भएका छन् । शिक्षकहरुका लागि तोकिएको मापदण्ड ५० अंक पुरा हुन नसक्दा कुनै पनि शिक्षकहरु सम्मानको सूचिमा परेनन् । दीर्घ सेवा प्रदान गरेका ७ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो । ५३ वटा विद्यालयमध्ये २० वटा विद्यालयले मात्र शिक्षा शाखाले उपलब्ध गराएको सूचकहरु भरि उपलब्ध गराएका थिए ।  


गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भूगोलका कारण विद्यालय टाढा हुने समुदायका विद्यार्थीहरुको पठनपाठनका लागि नगरले योजना निर्माण गरिरहेको बताउनुभयो । सम्मानले जिम्मेवारी बढाएको हुँदा, थप जिम्मेवार भएर लाग्न सम्मानित व्यक्ति तथा संस्थालाई सुझाब दिनुभयो । 

गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले विद्यार्थीहरुमा व्यवहार कुशल सीपको विकास र मानविय भावनाको जागरण हुने तरिकाले पठनपाठन गराउन सुझाब दिनुभएको छ । नैतिकता र विनयशीलताको स्वभाव विद्यार्थीमा आवश्यक भएको बताउनुभयो । 

नगरशिक्षा अधिकारी डा. बालकृष्ण चापागाईंले अरुका असल अभ्यास, सहपाठी शिक्षकका असल अभ्यासलाई अनुकरण गरेमात्र पनि विद्यालय राम्रो बनाउन सकिने बताउनुभयो । आफ्नो कर्ममा दृढ संकल्पित हुन सके सबै विद्यालय राम्रो र सबै विद्यार्थीलाई सफल बनाउन सकिने बताउनुभयो  । पुरस्किृत नभएका शिक्षक अयोग्य भएको  भनेर बुझ्न नहुने डा. चापागाईंको भनाइ छ । 

नगर शिक्षा समिति सदस्य दोलराज पाण्डेले प्रधानाध्यापक सक्षम भए सामुदायिक विद्यालयको सुधार प्रबल भएको जोड दिनुभयो । सामुदायिक विद्यालयहरुले व्यवस्थापन पक्ष सुधारमा जोड दिन आग्रह गर्नुभयो । 

जनक नमुना माध्यामिक विद्यालयका अध्यक्ष केशवप्रसाद सापकोटा, नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्राई, अमर ईं स्कूलका प्रिन्सिपल अशोक पौडेल लगायतले शुभकामना दिनुभएको थियो । विद्यार्थीहरु समिर जमर कट्टेल, समिर पाठक, स्वस्तीका खड्का, संगिता दाहाल लगायतले व्यवहारिक शिक्षामा जोड दिन आग्रह गरेका थिए । 


गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारीले कार्यक्रममा प्राप्त सुझाबहरुलाई आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताउनुभयो । शिक्षा शाखा अधिकृत अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।