जलाधार क्षेत्रको संरक्षणका लागि सहमतिले गरेको कार्य सराहनिय : जिसस प्रमुख

२०८१ भदौ ३१ सोमबार १४:२६:०० मा प्रकाशित

चितवन । सामाजिक संस्था सहमतिले चितवनको खगेरी जलाधार क्षेत्रमा निर्माण गरेको संरचनाहरुको अवलोकन गरिएको छ । खगेरी जलाधार क्षेत्र अन्तर्गत इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको विभिन्न सामुदायिक वनमा स्थानीय उपभोक्ता समितिको सहयोगमा सहमतिले निर्माण गरेको पोखरी, पहिरो नियन्त्रण, जैविक बाँध, सिँचाई पोखरी र पानीको मूहान पुनःजीवीत गर्ने संरचनाहरुको आइतवार अवलोकन एवम् निरीक्षण गरिएको हो । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, उपप्रमुख कल्पना काफ्ले सापकोटा, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई भरतपुरका अधिकृत नविन श्रेष्ठ लगायतका सरोकारवालाहरुले उक्त संरचनाको अवलोकन गर्नुभएको हो ।  

विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा सहमतिले ‘नेचर बेस सोलुसन–द ट्रिपल बेनिफिट प्रोग्राम’ परियोजना अन्तर्गत ती संरचना निर्माण गरेको हो । खगेरी जलाधार क्षेत्रको संरक्षणका लागि सहमतिले गरेको कार्य सराहनिय भएको जिसस प्रमुख अधिकारीले बताउनुभयो । प्रकृतिको संरक्षणका लागि सहमति संस्था स्थानीय सामुदायिक वनहरुको साथी बनेकोमा उहाँले खुसी व्यक्त पनि गर्नुभयो । जलवायु परिवर्तनको असरलाई कम गर्न र प्रकृतिको संरक्षणका लागि सहमतिले गरेको कामको उहाँले प्रशंसा गर्नुभयो ।  

इच्छाकामना गाउँपालिका–७ को सोमरी सामुदायिक वनमा मानव निर्मित पोखरी, पहिरो नियन्त्रण र सुधारिएको गोठ, रानीखोला सामुदायिक वनमा निर्मित सिँचाई कुलो र पानीको मूहान पुनःजीवीत संरचना, तिनकन्या सामुदायिक वनमा निर्मित पोखरी, कालिका नगरपालिका–१ चतुरमुखी सामुदायिक वनमा निर्मित खगेरी खोला जैविक बाँध, रत्ननगर नगरपालिका–९ मिलिजुली सामुदायिक वनमा निर्मित सिमसार पोखरी र कालीखोला देउराली सामुदायिक वनमा बनाइएको पानीको मूहान पुनःजीवीत संरचना र सिमसार क्षेत्रको अवलोकन गरिएको हो । 

सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले प्रकृति, जलवायु परिवर्तन र समुदायमा आधारित रहेर सहमतिले काम गरिरहेको बताउनुभयो । सहमतिले गरेको कामबाट प्रकृति संरक्षण र मानव जीविकोपार्जनमा सहयोग पुगेको उहाँले बताउनुभयो । “जलवायु परिवर्तनको असरलाई कम गर्न पनि यसको योगदान छ । संरचनाहरुको निर्माण गर्दा स्थानीयको जीविकोपार्जन पनि होस् भनेर समुदायलाई परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो ।