गैँडाकोटमा महिला जनप्रतिनिधिहरुको क्षमता विकासको कार्यक्रम सुरु 

२०८१ असार १७ सोमबार १९:३३:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा महिला जनप्रतिनिधिका लागि सोमबारबाट क्षमता विकासको तालिम सुरुवात भएको छ । गैँडाकोट नगरपालिकाको आयोजना र विजय एफएम १०१.६ को संयोजनमा भएको अभिमुखीकरण कार्यक्रममा महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास, उद्घोषण, स्थानीय ऐनका सन्दर्भमा अभिमुखीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमका अध्यक्ष तथा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सम्बन्धित स्थानमा प्रश्न गर्न सक्ने, आवाज उठाउन सक्ने, कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउन तालिमको आयोजना गरिएको बताउनुभएको छ ।

गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले कार्यक्रममा उपस्थित हुन नसकेपनि टेलिफोन मार्फत महिला दिदीबहिनीहरुको क्षमता विकासका लागि तालिम सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । 


तालिमको समन्वय संस्था विजय एफएमको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले क्षमता विकासले नै व्यक्तित्व निर्माण हुने बताउनुभयो ।

सोमबार विजय एफएमका सञ्चारकर्मीले उद्घोषण तालिमको सहजीकरण गरेका थिए ।  मंगलबार र बुधबार नेतृत्व विकास र स्थानीय ऐनका सन्दर्भमा अभिमुखीकरण हुने समन्वय संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।