मानव सेवा आश्रम कमलनगर नारायणगढमा निर्मित पाकशाला भवन हस्तान्तरण

२०८१ बैशाख ६ बिहीबार ०६:२८:०० मा प्रकाशित

लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीको बिशेष आर्थिक सहयोगमा मानव सेवा आश्रम कमलनगर नारायणगढमा निर्मित पाकशाला भवन बुधबार हस्तान्तरण गरिएको छ । 

“जसलाई जे आवश्यकता परेको छ उसलाई त्यही सहयोग गर्न पाउदा निक्कै ठुलो सन्तुष्टि मिल्छ” लायन्स क्लबका अन्र्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले त्यस्तै भएको बताउनुभयो । 

बुर्लाकोटीले संसारको ठुलो मानविय सस्था लायन्स क्लबले अर्को मानब कल्याणका लागि कृयाशिल सस्था मानव सेवा आश्रमलाई निरन्तर सहयोग गरिराखेको बताउदै यसलाई जारी राख्ने बताउनुभयो  ।

लायन्स क्लब अफ नारायणगढ नारायणी, लायन्स क्लब अफ बागेश्वरी, लायन्स क्लब अफ नारायणगढ संगमचोक , लायन्स क्लब अफ नारायणगढ संगमचोक संजिवनी र मानवसेवा आश्रमको पहलमा उक्त पाकशाला भवन निमार्ण भएको हो । 


स्वार्गीय समाजसेबी भगवानदास श्रेष्ठको परिवारले प्रदान जग्गामा मानव सेवा आश्रम चितवन सञ्चालित छ । भवन हस्तान्तरण कार्यक्रमका परिवारका सदस्यहरुको पनि उपस्थिती रहेको थियो । 

कार्यक्रममा डिष्ट्रिक ३२५ आरका गर्भनर आर एस महतोले लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीकबाट डिष्ट्रिक ३२५ आर लाई प्राप्त पहिलो परियोजना समयमै सम्पन्न भएकाले अन्य परियोजनाहरु ल्याउन सजिलो हुने बताउनुभयो । 

कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका पुर्व गर्भनरहरु, लायन्सका बिभिन्न पदाधिकारीहरु, भरतपुर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिकास थापा, मानब सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिती रहेको थियो । 

बेसाहारको साहार बनेको मानब सेवा आश्रमको चितवन शाखामा २ बालिका, १ बालक, ३ पुरुष र ६२ महिला गरि कुल ६८ जनाले आश्रय लिई रहेका छन् । मानब सेवा आश्रमका ७ प्रदेशका १९ वटा जिल्लामा २४ वटा सेवा केन्द्रहरु सञ्चालित छन् । 

हस्तान्तरण कार्यक्रमको सभापतित्व परियोजना संयोजक एवं लायन्स क्लब अफ नारायणगढ नारायणीकी सस्थापक अध्यक्ष सुधा जोशीले गर्नुभएको थियो ।