इलाम २ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत

२०८१ बैशाख १८ मंगलबार ०६:१५:०० मा प्रकाशित

काठमाण्डौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बन्नुभएको मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाउनुभयो ।  प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी) जफत भएको हो ।

निर्वाचन ऐनमा प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारहरुले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकतर्फको चुनावमा ५० हजार रुपैयाँ निर्वाचन आयोगमा बुझाउनुपर्छ । तर प्रत्यक्षतर्फको चुनावमा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट पाइन्छ ।

 

–अनलाइन खबरबाट)