ज्येष्ठ नागरिक विचार गोष्ठी, कार्यनिर्देशिका र शिक्षा नीति विमोचन सँगै सम्मान 

२०८१ बैशाख १८ मंगलबार १८:०५:०० मा प्रकाशित

गैँडाकोट । ज्येष्ठ नागरिक नगर संघ गैँडाकोटले ज्येष्ठ नागरिक विचार गोष्ठी तथा कार्यनिर्देशिका शिक्षा नीति विमोचन सँगै सम्मान कार्यक्रम गरेको छ । 

गैँडाकोट नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा ज्येष्ठ नागरिक संघका संस्थापक ७ जना सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । टोलनाथ घिमिरे, दुर्गाप्रसाद रिजाल, रङगनाथ चुवाईं, पूर्णमाया चुडाल, चिन्तामणी सापकोटा, दलबहादुर खत्री र कृष्णप्रसाद पराजुलीलाई सम्मान गरिएको हो । त्यस्तै उपस्थित ज्येष्ठ नागरिकलाई खादाले सम्मान गरिएको थियो ।  

कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकसँग धेरै ज्ञान, अनुभवहरु रहेको बताउँदै यसले नयाँ पिढिलाई सहि बाटो देखाउन मद्दत गर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई घरपरिवार, समाज सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । 

गैँडाकोट नगर उप प्रमुख शान्ति कोइरालाले वृद्धवृद्धालाई आवश्यक कुराको पहल गर्नका लागि ज्येष्ठ नागरिक संघले राम्रो काम गरेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले ज्येष्ठ नागरिकहरुका लागि नगरपालिकाले जहिले पनि प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । 

कार्यक्रममा ज्येष्ठ नागरिक चितवनका प्रशिक्षक संजीव पौडेलले ज्येष्ठ नागरिकलाई गर्नुपर्ने व्यवहार, अधिकार र राज्यले गर्नुपर्ने कामबारे प्रशिक्षण दिनुभएको थियो । 

ज्येष्ठ नागरिक संघ गैँडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले कार्यक्रममाथी प्रकाश पार्दै ज्येष्ठ नागरिकलाई आगामी दिनमा अझै सहज जीवनयापनका लागि विचार गोष्ठी तथा नीतिगत अवस्थाबारे जानकारी गराउन ज्येष्ठ नागरिक कार्यनिर्देशिका र शिक्षा नीति विमोचनका साथै संघलाई क्रियाशिल गराउन भूमिका निर्वाह गर्नुहुने संस्थापकलाई सम्मान गरिएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सक्रिय जीवन बनाउन आयआर्जनको व्यवस्था मिलाउनुपर्ने, ज्येष्ठ नागरिकको राम्रो स्याहार गर्नुपर्नेसँगै सन्तानलाई अन्तरक्रिया गरी राख्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ नवलपुरका अध्यक्ष श्यामसुन्दर भण्डारी, कृष्णप्रसाद पराजुली, गैँडाकोट राजस्व शाखा प्रमुख लक्ष्मिधर पौडेल, कवि इन्द्रराज पौडेल, संस्थापक अध्यक्ष टोलनाथ घिमिरे लगायतले शुभकामना मन्तव्य तथा कविता, भजन प्रस्तुत गर्नुभएको थियो । 
ज्येष्ठ नागरिक संघका सदस्य फुलुमाया पराजुलीले स्वागत गर्नुभएको सो कार्यक्रममा सदस्य लिलाधर पोख्रेलले सहजिकरण गर्नुभएको थियो ।