गैँडाकोट २ का महिला समूहका लागि उद्घोषण तालिम सुरु

२०८१ बैशाख १८ मंगलबार १८:०२:०० मा प्रकाशित

गैँडाकोट । महिला समूहमा आवद्ध पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिबृद्धिका लागि गैँडाकोट २ मा उद्घोषण तथा लेखा सम्बन्धी तालिम सुरु भएको छ । 

महिला सञ्जाल गैँडाकोट २ को आयोजनामा भएको तालिमको उद्घाटन सत्रमा गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटाले महिला दिदिबहिनीहरूको क्षमता विकासका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्ने बताउनुभयो । प्याब्सन नवलपुरका अध्यक्ष एवं बालविकास ईंङ्गलिस बोर्डिङ स्कूलका प्राचार्य दिपक रावतले प्रशिक्षार्थीलाई शुभकामना दिदै सीपले नै मानिसलाई अब्बल बनाउने बताउनुभयो । 

वडास्तरीय महिला सञ्जाल गैँडाकोट २ का अध्यक्ष पार्वती लम्सालले महिला दिदीबहिनीहरूको नेतृत्व तथा क्षमता विकासले टोलटोलमा सकारात्मक परिवर्तनका लागि उर्जा दिने बताउनुभयो । उहाँले आगामी दिनमा महिला सञ्जालले थप क्षमता विकासमा सहयोग पु¥याउने बताउनुभयो । 

कार्यक्रममा वडा सदस्यहरू सकिला परियार र खगराज आचार्य, सल्लाहकार विष्णुमाया पन्थी, देवी पोखरेल लगायतको उपस्थिति रहेको थियो । 

उद्घोषण तालिमको सहजीकरण विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय र सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले गर्नुभएको छ ।